आङछिरिङ शेर्पा मेमोरियल गल्फ टुर्नामेन्ट हुने

वरिष्ठ पर्यटन व्यवसायी एवम् यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको स्मृतिमा आङछिरिङ शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट हुने भएको छ ।
यती एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रो पटक आगामी मार्च ११ र १२ (२७ र २८ फागुनमा) गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनले भने, “पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो ।”
गत वर्ष २१ र २२ फागुनमा पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक वर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यसअघि नै यती एयरलाइन्सले घोषणा गरिसकेको छ । उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ ।
प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग ३ लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरु तथा निकटका संस्थाहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । सम्पूर्ण विधामा गरी करिव १३ लाख मूल्य बराबरको पुरस्कार वितरण हुनेछ ।
उक्त प्रतियोगितामा यती एयरलाइन्स, तारा एअर, हिमालय एअरलाइन्स, एल्टिच्युट एअर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एयरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन् ।