उद्योग संगठन मोरङद्वारा भेन्डिङ मेसिन हस्तान्तरण

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उद्योग संगठन मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत महिला प्रहरीका साथै सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी स्यानेटरी भेन्डिङ मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ ।
संगठनले संस्थागत सामाजिक उत्तर दायित्व वहन गरी गएको मंसिरबाट यस क्षेत्रका उद्योगहरूमा भेन्डिङ मेसिन जडान गर्ने अभियान प्रारम्भ गरेको थियो । सोही अभियानअन्तर्गत यसअघि मोरङको टंकिसीनुबारीस्थित दुगड फुड एन्ड स्पाइसेस प्रालिमा एकथान भेन्डिङ मेसिन जडान गरिसकेको छ ।
उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा महिलाको स्वास्थ्य सुरक्षालाई दुष्टिगत गरी सञ्चालनमा ल्याइएको यस अभियानअनुरूप महिला दिवसका अवसरमा विराटनगरको एक स्कुल र एक उद्योगमा भेन्डिङ मेसिन जडान गर्ने कार्यक्रम तय भएको संगठनले जनाएको छ ।
महिला दिवसकै अवसरमा ‘सामाजिक न्याय लैंगिक समानता, दिगो विकास सुनिश्चितता’ भन्ने नाराका साथ विराटनगरमा प्रभातफेरी गरिएको संगठनले जनाएको छ ।