Logo

नेष्डो समृद्धि लघुवित्तको आईपीओ बाँडफाँट

नेष्डो समृद्धि लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबार बाँडफाँट भएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँट भएको जनाएको छ । लघुवित्तको आईपीओमा आवेदन गरेका मध्ये ७७ हजार ४५६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
सोहीमध्ये तीन जनाले थप एक एक कित्ता गरी ११ कित्ता सेयर पाएका छन् । बाँकी आवेदकले भने सेयर प्राप्त गर्न सकेनन् । ११ फागुनदेखि लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल आठ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरूका लागि १२ हजार ७५० कित्ता छुट्ट्याइएको थियो ।
कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरी सर्वसाधारणका लागि सात लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो । जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकामा चार हजार १४६ आवेदन भने रद्द भएका बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणानुसार १६ करोड ३३ लाख ८ हजार खुद मुनाफा आर्जन गरेको छ । आव २०७७÷०७८ को अपरिस्कृत वित्तीय विवरणानुसार कम्पनीको सञ्चित मुनाफा २५ करोड ३० लाख ३१ हजार, प्रतिसेयर आम्दानी ९४ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ३५२ रुपैयाँ २३ पैसा छ ।
आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षणपछिको वित्तीय विवरणमा कम्पनीको सञ्चित मुनाफा १२ करोड ८१ लाख ९९ हजार, प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नटवर्थ २६० रुपैयाँ ८५ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्