Logo

पर्वतमा ग्लास स्काई ब्रिज सञ्चालनमा

पर्वत-नेपालमै पहिलो पटक सिसाको पुल(स्काईब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुस्माबजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सञ्चालनमा आएको हो ।
हार्नेस जिपलाईन प्रालि कुस्माले टिकटक पारखीहरुका लागि लक्षित गरेर मुलुकमै पहिलो पटक स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरि पुल बनेको छ ।
एकैपटकमा १ सय जना सम्मले स्काईब्रिजको मज्जा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । “हामीले सिसाको पुल नेपालको लागि पहिलो पुल बनाएका हौं” बस्नेतले भने, “अहिले युवाहरुको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौं ।”
स्काईब्रिजमा यसमा नाच्न, गाउँन सक्नेछन् । अहिले निर्माण भएको छोटो स्काईब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काईब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीप लाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ ।
हार्नेस प्रालिले कुस्माबजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ ।
कम्पनीले यस अघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँहरुबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताए । “बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जिपलाइनमा केही कम डर लाग्ने अनुभव जिपलाइनमा बगेकाहरुले सुनाएका छन् । जिपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ” उनले भने ।
जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्