कृषकलाई ३५ हजार माछाका भुरा

स्याङ्जा-मत्स्य विकास केन्द्र मिर्मीले स्याङ्जाका दुई पालिकाका कृषकलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ ।
स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका कृषकलाई ३५ हजार माछाका भुरा वितरण गरिएको हो । कृषकको मागलाई आधार बनाएर माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जाका पालिकालाई भुरा वितरण गरेको हो । केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत भुरा उपलब्ध गराएको अधिकारीले बताए ।
वालिङ नगरपालिकामा रहेका १९ माछापालक फार्मका कृषकलाई १६ हजार माछाका भुरा वितरण गरिएको पशु शाखा वालिङका प्रमुख डा वसन्त अधिकारीले जानकारी दिए । पोखरीको क्षमता हेरेर विभिन्न जातका माछाका भुरा उपलब्ध गराइएको छ । व्यावसायिक उत्पादनमा जोड दिँदै माछामा आत्मनिर्भर बनाउने अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रले सिल्भर कार्प, बिग हेड कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरेको छ । पछिल्लो समयमा स्थानीय कृषकहरु व्यावसायिक रुपमा अगाडि बढेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताइन् । माछा पालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ र वालिङमा आवश्यक पर्ने माछा स्थानीय स्तरमै उत्पादन गर्न सकिने उनले विश्वास गरिन् ।
व्यवसायिक उत्पादनका लागि नगरपालिकाले स्थानीय कृषकलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । उत्पादित वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्दै आएको नगरपालिकाले जनाएको छ ।