एक सातापछि नेप्सेमा सुधार «

एक सातापछि नेप्सेमा सुधार

निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक बुधबार सकारात्मक भएको छ । धितोपत्र बजार परिसूचक बढेको भए पनि कारोबार रकममा भने उल्लेख्य कमी आएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक पछिल्लो दिनहरूमा निरन्तर घटेको थियो । तर, बुधबार कारोबार बन्द हुँदा सामान्य अंकले बढेर बन्द भएको छ । तर, सेयर बजारको कारोबार रकम पनि दैनिक रूपमा घटेको छ । नेप्से कारोबार भएको यो साताको चौथो दिन बुधबार नेप्से परिसूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेर २६ करोडमा झरेको छ ।
मंगलबार ९ अंकले घटेको नेप्से बुधबार साढे एक अंकले बढेको हो । नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको हुनाले आगामी दिनमा सेयर बजार सकारात्मक हुने लगानीकर्ताहरू बताउँछन् ।
बुधबार कारोबार सुरु हुँदा १३९३.०४ अंकमा रहेको नेप्से १.६९ अंकले बढेर बन्द हुँदा १३९४.७३ अंकमा छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेको छ । बुधबार अन्य तथा बिमा समूहका कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक कारोबारको अन्तिम समयमा बढेको हो ।
नेप्से कारोबार भएका बैंकिङ ०.३२, विकास बैंक ७.८२, बिमा १६.१३, अन्य ५.०८, व्यापार ४.२२, होटल १४.७७ र जलविद्युत् ३.१३ अंकले बढेका छन् । तर, उत्पादनमूलक समूह २६.२, वित्त ०.७ र लघुवित्त समूह २.६२ अंकले घटेका छन् ।
नेप्सेमा १५६ कम्पनीको ३ हजार २ सय ६ कारोबारबाट २६ करोड १५ लाख रुपैयाँबराबरको ९ लाख ३८ हजार ३ सय ८ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।

 

प्रतिक्रिया दिनुहोस्