डेढ करोड लागतमा बौद्ध स्तुपा

गुल्मीमा डेढ करोडमा लागतमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको हो ।
समुद्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाइमा रहेको देउराली डाँडामा लुम्बिनी प्रदेशको दोस्रो ठूलो बौद्ध स्तुपाको निर्माण सुरु गरिएको भार्से स्वयम्भू देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नरु बुढाथोकीले जानकारी दिए । गत फागुन १३ गते शिलान्यास गरिएको स्तुपाको निर्माण असार मसान्तसम्म सकिने छ । “पर्यकटीय गनतब्य बनाउनका लागि स्तुपा निर्माणको सोंच बनाएका हौं ।” निर्माण समितिका अध्यक्ष बुढाथोकीले भने, “अभियानद्वारा रकम संकलन गरेर लगानी गरिरहेका छौं ।” अभियानबाट अहिलेसम्म ५५ लाख रकम संकलन भइसकेको उनले बताए ।
अभियानको नेतृत्व भार्सेली साज हङकङका अध्यक्ष कुलबहादुर बुढाथोकीले गरेका छन् । श्रीलंकाका १ र लुम्बिनीका ४ जना बौद्ध गुरुले देउराली डाँडाँमा स्तुपाको शिलान्यास गरेका थिए । रकम संकलन अभियानमा भार्सेली साज हङकङ, भार्सेली समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौं र सत्यवती गाउँपालिकाका अन्य स्थानीय पनि जोडिएका छन् । भार्से ऐतिहासिक ठाउँ भएकाले पर्यटकीयस्थलको रूपमा विकास गरेर परिचित गराउन आफूहरू बिदेशमा रहेर पनि जन्मभूमिमा लगानी गरेको र आगामी दिनमा पनि गर्ने अभियानका संयोजक भार्सेली साज हङकङका अध्यक्ष कुलबहादुर बुढाथोकीले बतए ।
फनपार्क निर्माण
सबै प्रकारका पर्यटकलाई आकर्षित गर्नका लागि बौद्ध स्तुपाको नजिकै फनपार्क निर्माण गरिएको छ । पर्यकटीय गनतव्य बनाउनका लागि बौद्ध स्तुपाको अभियानसँगसँगै जोडेर फनपार्क निर्माण गरिसकेको स्थानीय युवा सुजन गलामीले जानकारी दिए ।
“फनपार्क बनेको स्थलबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका हिमालहरू देखिन्छ ।” फनपार्क निर्माणको रेखदेखसमेत गर्ने स्थानीय गलामीले भने, “भार्सेलाई आन्तारिक र बाह्य दुवै प्रकारका पर्यटकको मुख्य केन्द्रविन्दु बनाउन लागिरहेका छौं ।” फनपार्कमा टिकटक, लभ, चन्द्रमा र बीचमा आश्रयस्थल बनाइएको छ । देउराली डाँडामा तामा, सिसा र फलाम खानीसमेत रहेको भार्सेका वडाध्यक्ष सन्तबहादुर थापाले बताए । “पहिले खानी उत्खनन भइरहेको रहेछ ।” वडाध्यक्ष थापाले भने, “पटकपटक गाउँपालिका र प्रशासनमा जानकारी गराउँदा पनि चासो भएन ।” वडाध्यक्ष थापाले बौद्ध स्तुपा, फनपार्क र अन्य काम गर्ने भार्सेलीलाई धन्यवाद दिए । निर्माणाधीन बौद्ध स्तुपा र निर्माण गरिएको फनपार्कका लागि सत्यवती गाउँपालिकाले अहिलेसम्म आर्थिक सहयोग गरेको छैन । रीडि–रुद्रवेणी–वामीटक्सार राष्ट्रिय राजमार्गको जोहाङ खैरेनीबाट करिब १६ किलोमिटरको उकालो यात्रापछि भार्सेमा पुग्न सकिन्छ ।