चुनावमा केन्द्रित हुन नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि संघीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यहरुको बैठकमा उनले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए ।
सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए । कांग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए । आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उनको भनाइ छ । गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्नेमा उनले जोड दिए ।
बैठकमा सभापति देउवाले सत्ता गठबन्धन वा विपक्षी दल कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । देउवाले पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न भनेका हुन् ।
देउवाले गठबन्धन दल र विपक्षीलाई समेत निम्नस्तरका गाली निर्देशन दिएका थिए । देउवाले भने, ‘हाम्रो गठबन्धन छ, गठबन्धनलाई बिच्काउने गरी व्यवहार नगरौं, त्यस्तो अभिव्यक्ति पनि नदिऔं । हाम्रो पार्टी विपक्षी पार्टीलाई खेदो गर्ने पार्टी पनि होइन, पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्नुहोला ।’
देउवाले गठबन्धन दलहरूको बीचमा शंका उत्पन्न हुने गरी समेत कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन् । प्रशिक्षणका क्रममा देउवाले भने, ‘चुनाव नजिकिएको छ, चुनावमा पार्टीलाई जिताउनुपर्छ । जनताको घरघरमा पुगेर पार्टीका राम्रा कुराहरू प्रचार गर्नुहोस्, जनतालाई बुझाउनुस् । एमसीसीबारेको भ्रमलाई तल्लोस्तरमै पु¥याइएको छ, त्यसलाई हामीले पार्टीको अभियानमार्फत चिर्नुपर्छ, राम्रो प्रचार भयो भने पार्टीलाई फाइदा पुग्छ ।’
त्यसक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि अभियानमा ध्यान दिनुपर्ने मुख्य कुराहरूबारे प्रकाश पारेका थिए । महामन्त्री थापाले एमसीसीका कारण पार्टीलाई चुनावमा क्षति हुन सक्ने भन्दै त्यसमा कम्युनिस्ट दलहरूले पैदा गरेको भ्रमबारे जनतालाई स्पष्ट पार्नुपर्ने बताए । उनले भने, ‘कम्युनिस्टहरूले तलसम्म प्रोपोगाण्डा र भ्रम पैदा गरेका छन्, जनताले वास्तविकता के हो भनेर छुट्याउन सकेका छैनन्। त्यसबारे हामीले प्रष्ट गर्नुपर्छ ।’
कांग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म एक महिने चुनावी अभियान सञ्चालन गर्दैछ । अभियानको तयारीका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । उनीहरु फागुन २७ गते नै जिल्ला–जिल्लामा पुगिसक्ने छन् ।