रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योग अगाडि «

रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योग अगाडि

नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ । उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशी लगानीका उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी परियोजना सेवा क्षेत्रका रहेका छन् भने दोस्रोमा पर्यटन क्षेत्र रहेको छ ।
चालू आवको पुस मसान्तसम्ममा नेपालमा सेवातर्फ १ हजार ७ सय २२ वटा तथा पर्यटनतर्फ १ हजार ६ सय ८९ परियोजना स्वीकृत भएका छन् । तेस्रो स्थानमा रहेको उत्पादनमूलक उद्योगमा भने १ हजार २ सय १२ परियोजना रहेका छन् । यसबाहेक कृषि तथा वनजंगल क्षेत्रमा २ सय ९१, सूचना प्रविधि क्षेत्रमा १ सय १२, ऊर्जामा ९०, खानीमा ७२ र पूर्वाधार क्षेत्रमा ४६ परियोजना स्वीकृत भएका छन् ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार रोजगारी सिर्जनाका क्षेत्रमा भने उत्पादनमूलक उद्योग अघि देखिएका छन् । यो क्षेत्रमा प्रस्तावित ६१ अर्ब ६ करोड ३१ लाख लगानी भई १ लाख ३ हजार ९१ को संख्यामा रोजगारी सिर्जना हुने जनाइएको छ । उत्पादनमूलक भन्दा सेवा क्षेत्रको लगानी बढी भए पनि रोजगारी सिर्जना भने कम रहेको छ । पराजुलीका अनुसार सेवा क्षेत्रमा प्रस्तावित ७२ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानी भई ७३ हजार १ सय ६२ को संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । यस्तै, पर्यटन क्षेत्रमा ७१ अर्ब ५ करोड ५८ लाख लगानी भई ५८ हजार ६४९ जनाले रोजगारी पाउने जनाइएको छ ।
ऊर्जा क्षेत्रमा परियोजना संख्या र रोजगारी सिर्जना दुवै कम भए पनि लगानीका हिसाबले सबैभन्दा बढी रहेको पराजुली बताउँछन् । उनका अनुसार ९० परियोजनामा १ खर्ब ३० अर्ब ३४ करोड ७८ लाख रुपैयाँ लगानी भई ११ हजार ८ सय ३७ को संख्यामा रोजगारी सिर्जना हुने आकलन रहेको छ । यस्तै, कृषि तथा वनजन्य परियोजनाबाट १० हजार ५ सय २४, खानीबाट ८ हजार ७ सय ८६, सूचना प्रविधिबाट ५ हजार ७ सय ४५ र पूर्वाधारबाट ३ हजार २ सय २६को संख्यामा रोजगारी सिर्जना हुने विभागले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा विदेशी लगानीबाट आउने पुँजीभन्दा यसले सिर्जना गर्ने रोजगारी संख्या र भित्र्याउने प्रविधिको महत्व बढी हुने बताउँछिन् । राणाका अनुसार नेपाल आफैंले नव प्रवर्तनात्मक कार्य गर्न नसक्ने अवस्थामा विदेशी प्रविधि भित्र्याउनुको विकल्प नभएकाले यसमा सरकार उदार बन्नुपर्छ । “विदेशी लगानीबाट हामीले रोजगारी सिर्जनाका क्षेत्रमा तत्कालीन लाभ त प्राप्त गर्छौं नै, यसबाट हामीकहाँ प्रविधि हस्तान्तरण समेत हुने भएकाले पछिसम्म मुलुकले लाभ प्राप्त गर्न सक्छ,” उनले भनिन् ।
विभागका अनुसार ठूला उद्योगले लगानी बढी ल्याए पनि प्रविधि पनि सँगसँगै ल्याउने भएकाले रोजगारी सिर्जनामा भने साना उद्योग निकै अगाडि देखिएका छन् । गत आवसम्ममा साना उद्योग दर्ताबाट १ लाख ६६ हजार १ सय ४३ को संख्यामा रोजगारी सिर्जना भएको छ भने मझौलाबाट ४९ हजार ५ सय ४१ र ठूला उद्योगबाट ५९ हजार २ सय ८६ संख्यामा रोजगारी सिर्जना भएको विभागको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्