भाडा समायोजन नगरे आन्दोलनको घोषणा

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी १ चैत्रबाट आन्दोलनमा जाने घोषणा गरेको हो ।
महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले वृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रति मिटर ६० रुपैयाँदरले समायोजन गर्न सरकारसँग माग गरेको हो ।
महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिम पटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे । अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त ७ दिने सरकारलाई अल्टिमेटम दिएको बताए ।
उनले केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पुर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले निजी क्षेत्रका कुनै निति निर्माण नगरीकन पलायन गराउन खोजेको आरोप लगाए । खनालले २०६५ सालमा यातायात क्षेत्रको लागि सरकारले एउटा भाडा नीति बनाएको उल्लेख गरे । सोही नीतिको आधारमा गत असारसम्म भाडादर कायम भइरहेको उनले बताए ।
संघीय सरकारले गत २८ असारमा भाडा समायोजन गरेपछि पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढेपनि भाडा समायोजन नगरेको उनले गुनासो गरे ।