Logo

मेलम्ची पीडितद्वारा आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको हो ।
सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै समितिले चैत एक गतेसम्म छ वटा माग पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले मानवीय भौतिक तथा नागरिकको जीवन निर्वाहको अनिवार्य साधनको क्षति भएको भन्दै समस्या समाधान गर्न सरोकारवालाबाट कुनै पनि कदम नचालिनु दुःखद रहेको बताए ।
उनले २०७८ साल २१ माघमा मेलम्ची आयोजनासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै यही ११ फागुनमा बसेको स्थानीय सरोकार समुदाय एवं सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकको निर्णयसहित विभिन्न माग राखेका थिए ।
कार्यक्रममा बोल्दै हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीले जोखिममा रहेका आयोजना प्रभावित क्षेत्रका बस्तीलाई संरक्षण गर्न सम्झौता भए पनि काम नभएको बताए । साथै सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराए पनि कुनै निकायले वास्ता नगरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्