Logo

साढे तीन करोड लगानीमा आठ विद्यालय भवन बन्दै

जुम्ला-एक पालिका एक पक्की विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअनुसार चालू आवमा जुम्लामा साढे तीन करोड लगानीमा आठवटा पक्की विद्यालय भवन निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सामाजिक विकास कार्यालय जुम्लामार्फत आठवटा पक्की विद्यालय भवन निर्माण हुन थालेका हुन् ।
बढ्दो विद्यार्थीको चाप र भौतिक संरचना अभावले पठन पाठनमा समस्या भएका सामुदायिक विद्यालयलाई छनोट गरी भवन निर्माण प्रक्रिया थालिएको छ । सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईंले चालू आवको असार मसान्तसम्म जुम्लाका आठै स्थानीय तहमा चार कोठे आठवटा पक्की विद्यालय भवन निर्माण गरिसक्नु पर्ने बताए । उनले भने, “छनोट भएका आठ विद्यालयमा भवन निर्माण गरिँदै छ । भवन निर्माणका लागि प्रतिविद्यालयलाई ४० लाखका दरले बजेट दिइने छ । सम्बन्धित विद्यालयको खाताकै पैसा पठाउने र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा भवन निर्माण हुनेछन् भने सामाजिक विकास कार्यालय अनुगमन निरीक्षण र प्राविधिक सहयोग गर्ने छ ।”
पक्की भवन निर्माण पश्चात पूर्वाधार अभावमा पठनपाठनमा भएको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । भवन निर्माणका लागि आठै पालिकामा छनोट भएका विद्यालयले सम्झौता गरी निर्माणको काम अघि बढेको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ ।

छनोट भएका विद्यालय
एक नगरपालिकासहित सातवटा गाउँपालिका रहेको जुम्लामा भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालयले प्रत्येक पालिकामा भवन अभाव भएको एक विद्यालयलाई छनोट गरेर पठाएको छ । जसअन्तर्गत चन्दननाथ नगरपालिकाको कर्णाली मावि अनामनगर छनोटमा परेको छ भने तातोपानी गाउँपालिकाको गणेश मावि राँका, तिलाको सीता मावि रारालिही, हिमाको कालिका आधारभूत विद्यालय दियारगाउँ, सिंजाको कैलाश मावि फुंग्र भवन निर्माणका लागि छनोट भएका छन् ।
त्यस्तै कनकासुन्दरीको मालिका मावि खिच्चने, पातारासीको सरस्वती मावि तल्फी र गुठिचौर गाउँपालिकाको कालिका आधारभूत विद्यालय देपालगाउँ गरी आठवटा विद्यालय भवन निर्माणका लागि छनोट भएको सामाजिक अधिकृत तुलराज चौलागार्इंले जानकारी दिए । उनका अनुसार मालिका माविको पुरानो भवनको मर्मत तथा नयाँ भवन निर्माणका लागि ८० लाख बजेट विनियोजन भएको छ भने बजेट खर्चको कार्यविधि आइसकेकोले फागुन पहिलो साताबाटै भवन निर्माणको कामअघि बढ्ने उनको भनाइ छ ।

भवन मर्मत गर्न ६५ लाख
चारवटा पुराना विद्यालय भवन मर्मतका लागि चालू आवमा झण्डै ६५ लाख बढी बजेट विनियोजन भएको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । गत वर्ष निर्माण भएको बजेट अभावले अधुरो रहेको तथा जीर्ण बनेका विद्यालय भवन निर्माणका लागि ६५ लाख बढी विनियोजन भएको छ ।
जसमा सरस्वती मावि कुडारीको भवन निर्माणका लागि ६ लाख ४६ हजार, त्रिभुवन मावि झारज्वाला विद्यालय भवनका लागि १६ लाख ६७ हजार, मालिका मावि धाँपाको भवनका लागि १७ लाख ६६ हजार र सत्यवादी मावि दशांैदी विद्यालयको भवनका मर्मतका लागि २५ लाख १५ हजार गरी जम्मा ६५ लाख ९४ हजार विनियोजन भएको सामाजिक विकास अधिकृत तुलराज चौलागाईंले जानकारी दिए ।
उनले भने, “सरस्वती मावि कुडारीको भवन निर्माणका लागि अपुग बजेट आएको छ । स्टिमेट अनुसारको बजेट नआएपछि सामाजिक विकास मन्त्रालयमा पुनः २४ लाख ६६ हजार ६ सय रुपैयाँ माग गरेका छौं । बजेट आएपछि मात्रै भवनले पूर्णता पाउने छ । अन्यथा यस वर्ष पनि अधुरै रहने छ ।”

प्रतिक्रिया दिनुहोस्