Logo

‘मुलुक बदल्नु छ भने नेता बदलिनु आवश्यक छ’

स्याङ्जा – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरू पहिला आफैं बदलिन आवश्यक रहेको बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरेस्थित बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको उद्घाटन गर्दै उनले नेताहरूमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने ठोकुवा समेत गरे ।

“भााषणमा मुलुक बदल्ने कुरा निक्कै गर्छौं तर ब्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन ।” उनले भने, “मुलुक बदल्नका लागि सबैभन्दा पहिला नेताहरूमा रहेका कमीकमजोरी तथा सोँचलाई परिवर्तन गर्न आवश्यक छ अनि मात्रै बदलिएको मुलुक बनाउन सकिन्छ ।”

धेरै नेताभन्दा पनि एक÷दुई जना असल नेता भए मात्रै पनि समाज रुपान्तरण गर्न सकिने उनको दाबी थियो । “खराब नेताले देश डुबाउँछ तर एउटै असल नेता भएदेखि देशको मुहार परिवर्तन गर्छ र माथि उठाउँछ ।” उनले भने, “असल नेता भएकै कारण विश्वका केही देशहरूले निक्कै फड्को समेत मारेका छन्, विकासशील देशको रूपमा अगाडि उदाएका छन् ।”

अब नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा आम नागरिकले समयमै सचेत भएर कस्तो नेता छान्ने भन्ने सोँच्नुपर्ने बेला आएको उनले बताए । निर्वाचनका बेला बहकाउमा लागियो भने पाँच वर्षसम्म पछुताई रहनुपर्ने भएकाले समयमै सचेत भएर अगाडि बढ्न पनि उनले आग्रह गरे ।

“एमसिसी राष्ट्रघाती छ भनी गरिएका प्रचारहरू भ्रममात्रै हुन् ।”उनले भने “हामी पनि नेपाल आमा र नेपाली जनताका लागि राजनीति गरेकाहौं, जुन भ्रम फिंजाइएको छ त्यो सत्य होइन् ।”कोइबो निर्माणले गुरुङ समुदायको भाषा, कला, संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालन गर्न पनिउनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्