Logo

अभ्यास क्रिकेटमा नेपालको जित

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपालले सोमबार श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको छ ।
पहिलो अभ्यास खेलअन्तर्गत नेपालले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी २८.५ ओभरमा मात्र १ सय ३ रड्दा सबै विकेट गुमाउन पुगेको थियो । ३२–४ को अवस्थामा रहेको नेभीको इनिङ पाँचौं विकेटका लागि मधुसंका मदुरा र संजिवाले ३० रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए । तर १६औं ओभरको पहिलो बलमा संजिवा पवेलिन फर्किएपछि नेभीको इनिङ थप धरमराएको थियो । संजिवाले २५ बलमा २ चौका मद्दतमा १५ रन जोडे । थप २० रन जोड्ने क्रममा नेभीले मधुसंकालाई पनि गुमायो । मधुसंकाले ६८ बलमा ४ चौका र १ छक्का मद्दतमा ३९ रन बनाए । त्यस्तै दिनेश मधुशानले १४ रनको योगदान गरे ।
नेभीलाई सस्तैमा समेट्ने क्रममा कसिलो बलिङ गरेको नेपालका लागि कप्तान सन्दीप लामिछानेले ७.५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै विक्रम सोब र ज्ञानेन्द्र मल्लले समान २ विकेट लिए । करण केसी, सागर ढकाल र कलमसिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३७.१ ओभरमा अलआउट हुनु अघि २ सय १४ रनको योगफल तयार पारेको थियो । २५ रनमा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको नेपालले थप १८ रन जोड्दा ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेट गुमाउन पुगेको थियो । ज्ञानेन्द्रले भने मात्र १ रन जोडेका थिए । अर्का ओपनर आसिफ शेखले दिपेन्द्रसिंह ऐरीसँग २७ रनको साझेदारी गरेका थिए ।
आसिफले ३८ बलमा ५ चौका मद्दतमा ३६ रनको योगदान गरे । ८४–४ को स्थितीमा रहेको नेपालको इनिङ पाँचौ विकेटका लागि दिपेन्द्र र विनोद भण्डारी ६९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । दिपेन्द्रले ५२ बलमा २ चौका र १ छक्का मद्दतमा ४३ रनको योगदान गर्दा विनोदले २५ बलमा २ चौका मद्दतमा २२ रन जोडे ।
त्यस्तै कलम सिंह ऐरी र करण केसीले समान १६ रनको योगदान गरे । नेभीका अकुरोगोडाले ४ र अवात्ले ३ विकेट लिए ।
यूएईमा अर्को साताबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखलाको तयारीमा रहेको नेपाल हाल अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको छ । नेपाल मार्च १४ मा श्रीलंकाबाटै युएई प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्