Logo

एमालेले ७४ को भन्दा बढी सिट ल्याउँछ : महासेठ

नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् । उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने पनि दाबी गरे । उनले भने,‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं। एमालेको लोकप्रियता जनताको बीचमा छ । एमालेले सरकारमा हुँदा देश र जनताको लागि जुन काम गरेको थियो, ती काम लिएर हामी जनताको बीचमा जान्छौं । हामीले गरेका कतिपय कामको कारण जनताको बीचमा एमाले लोकप्रिय छ ।’
उनले देश निर्वाचनमय भैसकेको पनि उल्लेख गरे । उनले भने,‘आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। यद्यपि जनतामा अहिले यो निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका छ ।’ उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई परमादेशबाट हटाउने काम भएको उल्लेख गर्दै कतै चुनावको मुखमा आएर सम्मानित सर्वोच्च अदालतबाट निर्वाचन रोक्ने काम त हुँदैन भन्ने आशंका जनताले गरेको टिप्पणी गरे ।
उनले सर्वोच्च अदालतबाट जनताको भावनाविपतिर निर्णय नहुने विश्वास दिलाए । उनले भने,‘फेरि पनि अदालतले निर्वाचन रोक्ने निर्णय ग¥यो भने नेपाली जनता सडकमा आउन बेर छैन । म न्यायाधीशहरुलाई पनि के अनुरोध गर्न चाहन्छु भने सर्वोच्च अदालतको मर्यादाभित्र हुने काम,न्यायापालिकाको निर्णय पनि हो । कुनै बहानामा निर्वाचन रोक्ने काम नहोस् ।’
महासेठले प्रतिनिधिसभाको निर्वाचन छिटोभन्दा छिटो होस् भन्ने धारणा पनि राखे । उनले भने,‘न अहिले संसद् अघि बढ्न सकेको छ, सरकार स्वयम्अनिर्णयको बन्दी भएर बसेको छ ।’उनले एमसीसीबारे आफ्नो पार्टीको कुनै आधिकारिक धारणा नआएको उल्लेख गरे । उनले एमसीसी सदनबाट पारित भएसँगै यसबारेको बहस अहिले सकिएको पनि बताए ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महासेठले रुस–युक्रेन युद्धबारे नेपाल सरकार हतार गरेर युक्रेनको पक्षमा उभिएको भन्दै कडा आलोचना गरे । उनले सरकारले जनतालाई चाहिने-नचाहिने कुरा भनेर ठगिरहेको आरोप लगाए । उनले रुस–युक्रेनलाई युद्ध रोक्नको लागि नेपाल सरकारले आह्वान गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्