Logo

बाराहीस्थानको हनुमान पाटी उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण भएको भक्तपुर नपा–३ बाराहीस्थानको हनुमान (भुजू) पाटी मंगलबार एक समारोहबीच रिबन काटेर उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचनाहरु इस्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने बताउँदै भक्तपुर नपाले युगसुहाउँदो समाज निर्माणमा जोड दिइरहेको बताए ।
भक्तपुरको रानीपोखरी हालै उद्घाटन भइसकेको र सर्वसाधारणको निम्ति पनि खुला भएको अवगत गराउँदै उनले देशकै सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले आवश्यक सहयोग पु¥याइ सम्पदा संरक्षणमा ठूलो उपलब्धी हासिल गरेको बताए ।
भक्तपुरवासी जनताको सेवा र सहयोगी भावनाले यहाँ विकास निर्माणका काम गर्न सजिलो भएको छ भन्दै उनले सम्पदा पुनःनिर्माणमा कुनै पनि लापहरी र कमजोरी हुन नदिएको बताए ।
पर्यटकीय नगर भक्तपुर सांस्कृतिक र ऐतिहासिक रुपले पनि महत्वपूर्ण नगर भएको बताउँदै उनले नगरपालिकाले जनताको सेवालाई नै पहिलो प्राथमिकतामा राखेको बताए ।
भक्तपुर नपा–३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताउनुहुँदै जनताको स्वास्थ्य सेवा पहुँच र स्तरीय स्वास्थ्य प्रदान गर्ने उद्देश्यले ख्वप अस्पताल निर्माण भएको बताए ।
उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले पाटी पुनःनिर्माणको आय–व्यय प्रस्तुत गर्दै ३७ लाख १० हजार २ सय ८७ रुपैयाँमा लागत इस्टिमेट भएको पाटीको खुद खर्च २४ लाख १३ हजार १ सय २२ रुपैयाँ रहेको अवगत गराए ।

प्रतिक्रिया दिनुहोस्