Logo

जोन्टा क्लबद्वारा प्रेरणादायी महिला सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ‘प्रेरणादायक र साहसी महिला’ सम्मान कार्यक्रमको आयोजना गरेको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ सँगै सो सम्मान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका १४ जना अनुकरणीय महिलालाई सम्मानित गरिएको थियो। कार्यकममा पुरस्कृत महिलाले आफ्नो संघर्ष र सफलताको कथा सुनाएका थिए ।
महिला सशक्तीकरणका वास्तविक पात्रहरूलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलालाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ ।
प्रिन्सेस हेलेन शाह इन्स्पिरेसनल वुमन अफ द इयरबाट प्रस्तुति भट्टराई र वर्षा तामाङ, अमर राना गेम चेन्जर अवार्डबाट क्याप्टेन प्रिया अधिकारी, कोभिड हिरोहरूका लागि रत्न देवी अवार्डबाट सुस्वप्न रिमाल, ज्योति स्कलरसिप वुमन इन बिजनेस स्कलरसिप अवार्डबाट वर्षा कटुवाल सम्मानित भएका छन् ।
त्यस्तै, वुमन इन टेक स्कलरसिप सुकीर्ति मास्केलाई, इन्द्रकला स्कलरसिप अवार्डबाट योङ वुमन इन पब्लिक अफेयर्सतर्फ मन्दिरा श्रेष्ठलाई, वुमन इन स्पेस मनिषा दावालाई प्रदान गरिएको छ ।
जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सीमा गोल्छाले भनिन्, “समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरूलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ ।”
त्यसैगरी अनसंग हिरोज विधाअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु¥याएका अन्य ४ जना महिलालाई पनि उनीहरूको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ ।
यो पुरस्कार पाउनेमा साझा यातायातको टिकट कलेक्टर रेजिना बस्नेत, रोराङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स सरिता चेपाङ, विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आएकी महिला ट्याक्सी ड्राइभर ईश्वरी थापा, पुरुषहरूले मात्र गर्दै आएका झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी मनु थामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्