ग्लोबल आइएमई बैंकको त्रिपक्षीय सम्झौता

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सहकारी पहिचान सहितको कुप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कुप कार्ड जारी गर्न लागिएको हो ।
ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरुले बुप कार्ड जारी गर्ने बताइएको छ । यसका लागि एससिटीले चाइना युनियन पेसँग सहकार्य गर्दै आएको छ ।
सहकारीका सबै सदस्यलाई सेवा पु-याउँदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्राण्डको कुप कार्ड जारी गर्न लागेको बताइएको छ । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम मार्फत सहजै चलाउन सकिने बताइएको छ ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् । यस सुविधाले सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुने बताइएको छ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।