नयाँ राडारबाट जहाजको निगरानी «

नयाँ राडारबाट जहाजको निगरानी

ललितपुरको भट्टेडाडाँमा जडान गरिएको नयाँ राडारबाट नेपाली हवाई आकाशको निगरानी सुरु भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले राडार जडानका लागि ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रूपमा आगामी माघको १८ गतेदेखि सुरु हुने छ । मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स राडार (एमएसएसआर) नामक राडार २ सय ५० नोटकल (प्रतिनोटकल १.८५ किमी) क्षमता रहेको छ । हाल फूलचोकीमा रहेको १७ वर्ष पुरानो प्राइमरी राडारको क्षमता थोरै रहेकोले धेरै पहिले देखिनै नयाँ राडार आवश्यक रहेको महशुस गरिएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा राडार जडान गरिएको प्रत्येक ५ वर्षमा विस्थापन तथा पार्ट्स परिर्वतन गर्नुपर्ने प्रावधान रहेको छ । “नेपालमा भने कम क्षमता त्यसमा पनि १७ वर्ष पुरानो राडार हुँदा एयर ट्राफिक निगरानीमा समस्या हँुदै आएको थियो,” आयोजना प्रमुख सञ्जीवसिंह कठायतले भने । अहिलेको नयाँ प्रविधिको राडारले नेपालको ७५ प्रतिशत भूभागको निगरानी गर्ने कठायतले बताए । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) को एनएक्स–१० अनुसार हवाई सुरक्षाको लागि नयाँ राडार जडान नेपालका लागि अत्यावश्यक भइसकेको थियो ।
नेपालको हवाई आकाशलाई थप सुरक्षित गराउन राडारका लागि सहयोग गरिएको जाइकाका प्रमुख आवासीय प्रतिनिधि जुन साकुमाले बताए । “नेपालमा उच्च पहाडी तथा हिमाली क्षेत्रहरू छन्, त्यसैले नयाँ प्रविधिमा जानु अत्यावश्यक भएकाले नेपालाई निरन्तर सहयोग गर्नेछौं,” साकुमाले भने ।
नयाँ राडारबाट नेपालको पूर्वी भाग पुरै र पश्चिममा नेपालगन्जसम्म हवाई निगरानी गर्ने क्षमता छ । जसले गर्दा नेपालको सीमानमा अन्य मुलुकबाट अवैधानिक रूपमा जहाज ल्याएमा पनि यस राडारले सूचना प्रवाह गर्ने छ । यस्तै, जहाजले गलत बाटो लिएमा, मौसम खरावी भएमा वा यस्तै घटना भएमा सबै सूचना राडारले दिनेछ । आयोजना प्रमुख कठायतका अनुसार हवाई सेवालाई सुरक्षित, भरपर्दाे र सुविधायुक्त बनाउन समेत नयाँ क्षमतावान राडारले सहयोग गर्ने छ ।
नेपालको हवाई दुर्घटना धेरैजसो डाँडाँकाडाँले छेकेपछि सूचना टावरमा दिन नसक्ने तथा मौसम खरावीको समेत सूचना दिने प्राविधि हाल नभएकोले हुने गरेको छ । तर, नयाँ राडार जडान भएमा धेरैजसो समस्या समाधान हुने अनुमान गरिएको छ । नयाँ राडार जडानको लागि एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको प्राधिकरणले जानकारी दिएको छ ।
नयाँ राडारले नेपालमा हुने आन्तरिक उडानका जहाजको निगरानी भने गर्ने छैन । आन्तरिक विमानस्थल भैरहवाको भने उडान अवतरणकै निगरानी गर्ने भए पनि अन्य विमानस्थल तथा उडानको निगरानी सम्भाव छैन । नेपालमा उडान भर्ने जहाजहरू होचो उडानमा हुने भएकोले राडारले निगरानी नगर्ने प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्