Logo

आप्रवासी प्रोफाइल तयार पार्दै वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासी प्रोफाइल तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाले आप्रवासी प्रोफाइल तयारी थालेको हो ।
नगरभित्रका नागरिकहरू वैदेशिक रोजगारीमा गएका वा फर्केकाहरूको तथ्यांक संकलन गर्ने, उनीहरूमा रहेको सीप, योग्यतालगायतका विवरण संकलन गरिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “वालिङका नागरिकहरू वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरूमा के कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकहरूले घर–घरमै पुगेर संकलन गर्नेछन् ।”
इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राखिने छ । ‘रोजगार पोर्टल’ मा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने कामदार चाहिएमा सहज र सुलभ रुपमा उपलब्ध गराउन सकिने व्यवस्था मिलाइने छ । “वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरूको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’ मा उल्लेख गरिन्छ ।” उनले भने, “सोहीपोर्टलका आधारमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, जसले गर्दा कामदारले काम पाउने र उद्योगले कामदार पाउन दुवै काम सहज हुनेछ ।”
नगरका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किए, फर्किएका नागरिकको स्थिति के छ भन्ने बारेमा बुझ्नका लागि १४ वटै वडामा गणकहरू खटाएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । वैदेशिक रोजगारीमा गएका वा फर्केका नागरिकहरूको यथार्थ जानकारी भएसँगै आगामी दिनमा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयनमा सहजता हुने उनले बताए । ‘कोभो एप्स’ को प्रयोग गरेर गणकहरूले डिजिटल प्रविधिबाट तथ्यांक संकलन गर्नेछन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के कस्तो काममा गरेका छन् भन्ने विवरणसमेत गणकहरूले घर–घरमै पुगेर भर्ने छन् ।
१७ जना गणकलाई दुईदिने तालीम दिएर यसको यथार्थ र तथ्यपरक विवरण संकलनका लागि गणकहरू घर–घरमा गएनगएको एप्समार्फत नै निगरानी गर्न सकिने सुरक्षित आप्रवासन परियोजना (सामी) स्याङ्जाका कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिए ।
गणकहरूले एप्सको प्रयोग गरेर दुई प्रकारबाट विवरण संकलन गर्नेछन् । पहिलो वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र दोस्रो वैदेशिक रोजगारीमा रहेकाको घर परिवारका बारेमा फरक÷फरक विवरण संकलन गर्नेछन् । वैदेशिक रोजगारीमा गएर फर्केका ब्यक्ति र वैदेशिक रोजगारीमा रहेका ब्यक्तिको परिवारलाई लक्षित गरेर विवरणहरू संकलन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्