पश्चिमको नमुना सहर बनाउने सपना अधुरै
नेपालगन्ज उपमहानगरको पाँच वर्षे कार्यकाल

नेपालगन्ज-२०७४ सालमा भएको स्थानीय तह निर्वाचनको पाँच वर्ष पूरा हुँदैछ । स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा नेपालगन्ज उपमहानगरपालिकामा थुप्रै विकास निर्माणका कार्य भएका छन् । पाँच वर्षमा झण्डै १० अर्बको हाराहारीमा बजेट विनियोजन गरे पनि पहिलो कार्यकाल सकिन लाग्दासमेत जनप्रतिनिधिले वाचा गरेका कतिपय महत्वपूर्ण योजना अधुरै छन् ।
२०१९ सालमा नगरपालिका बनेको र हाल उपमहानगर भएको नेपालगन्ज पश्चिम तराईको सबैभन्दा पुरानो सहर र प्रमुख व्यापारिक केन्द्र हो । २०७१ सालमा उप–महानगरपालिका घोषित भएलगत्तै लामो समयपछि स्थानीय सरकारले जनप्रतिनिधि पाउँदा पश्चिमको नमुना सहर बन्ने अपेक्षा धेरैको थियो । झन दोस्रो पल्ट डा. धवल शम्सेर राणालाई मेयर पाएपछि व्यवस्थित सहरीकरणले विकासमा फड्को मार्ने आशा जागेको थियो । तर व्यवस्थित सहरीकरण र दीर्घकालीन गुरुयोजना अनुसार योजनाबद्ध विकास अवधारणा ल्याउन नसक्दा नेपालगन्जलाई नमुना सहर बनाउने सपना पूरा हुन सकेको छैन । बहुदलीय व्यवस्थापछि २०४९ सालमा नेपालगन्जको पहिलो मेयर बनेका विजय गुप्ता गुरुयोजनाअनुसार काम हुन नसकेको बताउँछन । “नगरको विकासका लागि दीर्घकालीन गुरुयोजना चाहिन्छ,” उनले भने, “पाँच वर्षमा कुनै गुरुयोजना बनेको मेरो जानकारीमा छैन ।”
२०४९ सालमा आफू मेयर छँदा नगरको विकासका लागि चक्रपथ निर्माणलगायत महत्वपूर्ण योजनासहित बनाएका गुरुयोजनासमेत कार्यान्वयन नहुनु दुःखद भएको उनको भनाइ छ । तर मेयर डाक्टर धवलशम्सेर राणाले प्राविधिक कारणले चक्रपथ निर्माण, आकासे पुललगायतका योजना निर्माण हुन नसके पनि अन्य विकास निर्माणका अधिकांस काम सकिएको दाबी गरे । नेपालगन्जमा विभिन्न सडक, ल्याण्डफिल साइट, अत्याधुनिक बसपार्क, कन्या क्याम्पस, वाटरपार्कर रानीलताउ, कान्ति ताललगायत विभिन्न ताल तलैया संरक्षणजस्ता विकास निर्माणका थुप्रै काम भएको मेयर राणाले बताए । “यी कामकै आधारमा मेरो कार्यकाल स्वर्णिम भएको छ,रू उनले भने, “यहाँ बनाउनु पर्ने धेरै काम सकिएको छ ।”
मेयर राणाले आफ्नो कार्यकाल स्वर्णिम भएको दाबी गरिरहँदा स्थानीय अगुवाहरु भने सन्तुष्ट छैनन् । बाँके जिल्ला बार एसोसिएसनका अध्यक्ष जनकबहादुर शाही एसियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा विकासका केही काम भएपनि स्थानीय सरकारले कुनै नयाँ विकास योजना ल्याउन नसकेको बताउँछन । “लामो समयपछि निर्वाचन हुँदा जनप्रतिनिधिले नेपालगन्जको विकासका लागि धेरै खाडल पुर्नुपर्ने थियो त्यो हुन सकेन,” उनले भने, “एडीबीले गरेको विकासका कामले पूर्णता पाउनेबाहेक नगरको आफ्नै कुनै नयाँ योजना खासै देखिएन ।”
निर्वाचनका बेला नेपालगन्जका अधिकांश उम्मेदवारले चक्रपथ निर्माणको योजनालाई आफ्नो मुख्य विकासको एजेण्डाका रुपमा प्रस्तुत गरेका थिए । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको परिकल्पनामा अगाडि सारिएको चक्रपथ नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २० मनिकापुर (राँझा) देखि सिक्टा सिंँचाइ आयोजनाको पूर्वी नहर हुँदै महेन्द्र बहुमुखी क्याम्पस तथा पश्चिममा चौलिका चोकदेखि जानकी गाउँपालिकाको इन्द्रपुर हुँदै पश्चिमी सिक्टाको नहरमा जोड्छ । सवारीसाधनको चाँप बढदै गएका बेला वैकल्पिक मार्ग निर्माण हुन सकेका छैनन् भने यहाँ भएका भित्री सडकसमेत चौडा हुन सकेका छैनन् । यस्तो अवस्थामा नेपालगन्जको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । चक्रपथ निर्माण भएको भए यो समस्या समाधान हुने अपेक्षा धेरैको भए पनि निर्माण हुन सकेन । पूर्वमेयर विजय गुप्ता काठमाडौंमा अर्को रिंगरोड बनाउने तयारी भइरहँदा नेपालगन्जमा आफ्नो कार्यकालमा अघि बढाइको रिंगरोड अलपत्र पर्नु दुःखद भएको बताउँछन् । “योमात्र होइन यहाँ दर्जनौं वैकल्पिक सडक बनाउन आवश्यक छ,” उनले भने ।
मेयर राणा भने चक्रपथ बनाउने प्रयास थालिए पनि ९० प्रतिशत रिंगरोड नहरको बाटामा पर्ने भएका कारण नहर नबनेर अर्काको जग्गामा बाटो बनाउन नमिल्ने भएकाले निर्माण हुन नसकेको बताउँछन् । “नहर बनेपछि फेरि बाटो बिग्रिन्छ भनेर त्यो नबनेको हो,” उनले भने, “जबसम्म नहर बन्दैन तबसम्म रिंगरोड बन्नसक्ने अवस्था छैन ।”
नेपालगन्जको अर्को महत्वाकांक्षी योजनाको रूपमा आकासे पुल निर्माण गर्ने योजना थियो । त्यो योजना पनि पूरा हुन नसक्दा व्यवस्थित सहरीकरण बनाउने योजना सफल भएको मानिदैन । मेयर राणाले आकासे पुलको योजना कोभिडले खाएको बताए । “हामीले ठेक्का लगायौं । ठेकेदारले एडभान्स पनि लियो,” उनले भने, “कोभिडमा ऊ भाग्यो उसले एडभान्स लिएको पैसा लिएर ऊ फर्केर आएन ।”
मेयर राणाले अघि सारेको अर्को योजना नेपालगन्ज उप–महानगरपालिकालाई महानगर बनाउने थियो । प्राविधिक कारणले त्यो योजना पनि पूरा हुन सकेको छैन । त्यस कारण आफ्नो ठाउँमा होला तर महानगर बनाउन आवश्यक पर्ने न्यूनतम मापदण्डमा पर्ने सानासाना कुरासमेत अझै निर्माण हुन सकेका छैनन् । उपमहानगरपालिकाले नमुना सहरीकरणका लागि ट्राफिक व्यवस्थापन, सार्वजनिक शौचालय, सहज पार्किङजस्ता सानातिना तर महत्वपूर्ण धेरै काम व्यवस्थित गर्न सकेको छैन । उपमहानगरले रिंगरोड निर्माण, आकासे पुल, महानगर बनाउनेजस्ता विभिन्न योजना पूरा गर्न नसक्दा पश्चिमको नमुना सहर नेपालगन्जको आकर्षण बढन नसकेको देखिन्छ । पहिलो कार्यकाय मध्यम रुपमा गुजारेको उपमहानगरमा आगामी चुनावपछि कस्तो योजना लिएर को नेतृत्वमा आउँछ त्यो भने हेर्न बाँकी नै छ ।