खानेपानी आयोजनाले फेरियो गाउँको मुहार

तेह्रथुम-पानीका मुहानहरू सुक्दा मानिस तथा पशु चौपयालाई पिउने पानीको जोहो गर्नै मुश्किल थियो । खानेपानी अभावकै कारण वर्षेनी दर्जनौं परिवार बसाइँ सर्नुपर्ने बाध्यता । खानेपानी पैंचौ लिनु पर्ने अवस्था थियो तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई ।
नागरिकका समस्या सामाधानका निम्ति स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि दैनिकी फेरिन थालेको छ । गाउँगाउँमा पानी पुगेपछि यतिबेला खानेपानीको समस्याबाट मुक्त बन्न थालेका छन् छथर गाउँपालिकाका बासिन्दा । सबेरै खानेपानीकै निम्ति भौंतारी रहुनपर्ने बाध्यताबाट मुक्त भएको छथर–३ पञ्चकन्याका बद्रीनाथ क्षेत्रीले बताए । उनी भन्छन्, “केहीवर्ष अघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाँकसँगै खानेपानी लिन धारा पँधेरीमा पुग्नु पथ्र्याे तर, अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाइ गर्दै आएका छौं ।”
बस्ती बस्तीमा खानेपानी पुगेसँगै यहाँका स्थानीयका घरका करेसा हरियाली देखिन थालेका छन् । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको सुस्मा श्रेष्ठले बताइन् । “पहिलेपहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी नै सकस थियो पशुचौपयालाई त कुरै थिएन । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौं । तरकारी किन्नु पर्दैन खानेपानीको समस्या हटेको छ । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैं लागको छ,” श्रेष्ठले भनिन् ।
गाउँपालिकाको तमोर तटीय क्षेत्रका बासिन्दा वर्षाैंदेखि खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । “स्थानीय निर्वाचनपछि हामी जनप्रतिनिधि नागरिकको समस्यालाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आएका छौं । “खानेपानीको अभावले यस क्षेत्रमा भएका सामाजिक काममा खाना खाएर स्याउलाले हात चुठ्नु पर्ने नागरिकको समस्यालाई हामीले प्राथमिकता दिँदै बृहत् खानेपानी आयोजना सञ्चालन गरेका हौं । सोही आयोजनाले यहाँका नागरिकको अवस्थामा परिर्वतन ल्याउन सफल बनेका छौं,” तिगेलाले भने ।
खानेपानी आयोजना सञ्चालनसँगै आठ सय परिवार लाभान्वित बनेको गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए । आयोजना सञ्चालनपछि बसाइँ सराइको संख्यामा समेत न्यूनीकरण आएको वडा कार्यालयहरूले जनाएका छन् ।