Logo

सार्वजनिक लेखा समितिको प्रतिवेदन पारित

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले २१औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो । शुक्रबार समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।
उनले प्रतिवेदनमा नौवटा उपसमितिहरुले गरेका बेरुजु फर्छ्यौटका कामहरु समावेश गरिएको बताए । सचिव पाण्डेले प्रतिवेदनमा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षणलगायतका कुराहरु यसमा समावेश रहेको बताए ।
सचिव पाण्डेले भने, ‘सार्वजनिक लेखा समितिको बैठकमा विशेष गरी समितिले वर्षदिनमा गरेको काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले आज यसको मस्यौदा प्रतिवेदन समितिमा पेस भइ छलफलपछि यसलाई पारित गर्ने काम भयो । विशेष गरी यो वर्षभरी समितिले गरेका काम कारबाहीहरुमा मूलभूत रूपमा बेरुजु फछ्यौट गर्ने नौवटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको छ । समितिले समय समयमा बैठक बसेर समसामयिक विषयहरुमा गरेका निर्णयहरु पनि यसमा समावेश छन् ।
एउटा स्थलगत निरिक्षण गर्ने काम भएको थियो । गण्डकी प्रदेशमा पर्ने कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गर्ने र त्यसको प्रतिवेदन प्राप्त भएको उपसमितिले पेश गरेको प्रतिवेदन थियो, त्यो समेत यसमा समावेश गरिएको छ । विशेषगरी विभिन्न मन्त्रालय र केन्द्रीय निकायहरुमा जुन बेरुजुको थुप्रै भलुमहरु कम्पायल भएर बसेका थिए । तिनीहरुलाई हामीले वर्षभर नै उपसमिति मार्फत छलफल गरेर किनारा लगाउने काम गरेका छौँ । ती कुराहरु यो प्रतिवेदनमा समावेश गरी सदनमा अनुमोदनको लागि पेस गर्नको लागि हामी प्रश्ताव गर्दैछौँ ।’
सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि बताए । उनले फास्ट ट्रयाकसम्बन्धी प्रतिवेदन यसअघिकै प्रतिवेदनमा संलग्न भइसकेको र पछिल्लो समय नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेकोले अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्