मनमोहनले वैशाखदेखि प्राविधिकतर्फ पढाइ सुरु गर्ने

धनकुटा – विश्वविद्यालय ऐन बनेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको २ वर्षपछि मनमोहन प्राविधिक विश्वविद्यालयले स्नातकतहको इन्जिनियरिङको पढाइ सुरु गर्ने भएको छ । धनकुटामा पत्रकार, शिक्षक प्रतिनिधी र विद्यार्थी संग अन्तक्रिया गर्दै विश्वविद्यालयलेका डिन डा. प्रचण्डमान प्रधानले जानकारी दिए ।
आगामी वैशाखदेखि ४ वर्ष सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङको अध्यापन सुरु गर्न आवश्यक सवै तयारी अघि बढाएको प्रधानको भनाइ थियो । प्राविधिक शिक्षालाई गुणस्तरीय, वैज्ञानिक तथा जीवन उपयोगी बनाउने उद्देश्यले उक्त विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्थापना भएको विश्वविद्यालयका इन्जिनियर नरेन्द्रकुमार डाँगीले बताए । अबको आवश्यकता प्राविधिक शिक्षाको भएको र इन्जिनियरिङ विषयको माग रहेको डाँगीको भनाइ छ ।
युवालाई प्राविधिक शिक्षातर्फ अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्ने वर्तमान आवश्यकता परिपूर्तिका लागि विश्वविद्यालयको स्थापना भएको उनले बताएका छन । प्रवेश परिक्षा उत्तीर्ण विद्यार्थीलाई चारवर्षे सिभिल इन्जिनियरिङमा ५ लाख ८० हजार र इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ५ लाख ७० हजार शुल्क तोकेको जनाइएको छ । विश्वविद्यालयले हाल स्कुल अफ इञ्जिनियरिङ सञ्चालन गर्न लागेको भएपनि भविष्यमा स्कुल एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एन्ड एप्लाइड हेल्थ साइन्सेज सञ्चालन गर्ने योजना रहेको डिन प्रधानले जानकारी दिए ।