Logo

‘संसद् अवरोधले जनताको अधिकार कुण्ठित’

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागि हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् ।
उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका व्यक्त गरे ।
संसद् भवनमै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद निरन्तर अवरोध हुनेभए संसद भंग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरे । संसद् चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बितण्डालाई सामना गर्नका लागि संसद भंग गर्नुपर्ने बताए । संसद भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा जाने भन्ने कुरा आफुलाई थाहा नभएको टिप्पणी गरे । उनले वर्तमान सरकार पुरा अवधिसम्म रहने र संसदको अवधि समाप्त भएपछि मात्रै चुनाव हुने उनले बताए । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताए । वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्लि इलेक्शन गर्ने समय नहुने उनले बताए । सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्लि इलेक्शनमा जाने कुरा राजनीतिक रुपले ठिकै भए पनि नेपालको भौगोलिक जटिलता र मौसमी अवस्थाका कारण पनि त्यसो गर्न नसकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्