Logo

राष्ट्र बैंकको जिम्मेवारी र दायित्व

राष्ट्र बैंक अनावश्यक कुरामा अल्झिने, बैंकहरूलाई व्यापारीको रूपमा हेर्न थाल्ने हो भने त्यसले बैंकिङ क्षेत्रमा स्थायित्व कायम गर्न सक्दैन ।

राज्यले नागरिकलाई विभिन्न सुविधाहरू उपलब्ध गराउने गर्छ । त्यसमध्येको एउटा सुविधा हो— बैंकिङ । नागरिकलाई बैंकिङ सुविधा उपलब्ध गराउने राज्यको नीतिअनुसार त्यसको जिम्मेवारी केन्द्रीय बैंकलाई सुम्पिएको हुन्छ ।
नेपालको हकमा यो जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ । राज्यको नीतिका आधारमा केन्द्रीय बैंक अर्थात् नेपाल राष्ट्र बैंकले नीति बनाउँछ र सोका आधारमा बैंकिङ कारोबार गर्नका लागि अन्य सरकारी, अर्धसरकारी वा निजी क्षेत्रका बैंकहरूलाई इजाजत दिन्छ ।
त्यसको निरन्तर अनुगमन र नियमनको दायित्व पनि राष्ट्र बैंककै हुन्छ । नेपालको हकमा राष्ट्र बैंकले आमनागरिकको बैंकिङसम्बन्धी काम गर्दैन । राष्ट्र बैंकमा सरकारी खाता र इजाजत प्राप्त बैंकहरूको खाता हुन्छ । सर्वसाधारणको बैंकिङ कारोबार भने इजाजत प्राप्त अन्य बैंकहरूले मात्र गर्छन् । यसरी इजाजत प्राप्त संस्थामार्फत बैंकिङ सुविधा नागरिकलाई पु¥याएबापत बैंकले सेवाशुल्क लिन्छन् । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको, निर्देशन दिएको वा राष्ट्र बैंकले बनाएको कानुनमा टेकेर हरेक काम तथा क्रियाकलाप गर्न सक्छन् ।
राष्ट्र बैंकले कानुनमा उल्लेख गरेबेगरको कुनै पनि काम तथा कारबाही इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले गर्न पाउँदैनन् । जे जारी भएको छ, जुन निर्देशन दिइएको छ, सोही काम मात्रै गर्न पाउँछन् । अन्यथा बैंक तथा वित्तीय संस्थाले चाहँदैमा कुनै पनि काम हुन सक्दैन ।
तर पनि नेपाल राष्ट्र बैंकमा कार्यरत पदाधिकारी, कर्मचारीले आफूबाट इजाजत प्राप्त संस्था, बैंक, वित्तीय संस्थालाई यी व्यपारीहरू हुन्, यिनले आफ्नो व्यापार चलाएर खाएका छन् भनेर बुझ्नु र हेर्नु अनि त्यहीअनुसारको व्यवहार गर्नु एकदम नजायज कुरा हो । यसले बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकबीच दरार पैदा गर्ने जोखिम बढ्छ ।
व्यापारी भनेको त्यो हो, जसले आलुको व्यापार गर्ला, अझ फाइदा देखे कोदो, मकैको व्यापार गर्ला । अर्थात् व्यापारी व्यापार गर्न स्वतन्त्र हुन्छ । जेमा फाइदा देख्छ, त्यसैमा व्यापार गर्छ । तर बैंक तथा वित्तीय संस्थाहरू त्यस्ता होइनन् । उनीहरूले आफ्नो इच्छाबमोजिम धेरै कुरा गर्न सक्दैनन् । जे गर्न इजाजत लिएको हुन्छ, त्योभन्दा बाहेक अन्य व्यापार गर्न सक्दैन ।
यस अर्थमा पनि बैंकलाई अन्य व्यापारीहरूसँग समान हैसियतमा राखेर हेर्न मिल्दैन, किनकि बैंकले अर्को ठाउँमा नाफा देख्दैमा व्यापार फेर्न मिल्दैन । उसको काम वित्तीय मध्यस्तता गर्ने हो र बैंक यत्तिमा सीमित भएर रहनुपर्छ ।
मुलुकमा वैदेशिक मुद्राको सञ्चिति बढाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साथ दिन र सहयोग गर्नु आवश्यक छ । त्यसरी साथ र सहयोग ग¥यो भने मात्रै विदेशी मुद्रा सञ्चितिको भण्डारण बढ्छ । बैंकिङ कारोबार र बैंक कारोबार गर्ने कुरा सुदृढ हुन्छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले कमाएको रकम जो विदेशबाट नेपाल रेमिट्यान्स गरिन्छ, त्यस्ता रोमिट्यान्स कम्पनीबीचको विवादले वा विदेशी पार्टनर रेमिट्यान्ससँगको विवादले कतिपय रकम विदेशमै अड्किने र नेपाल नआउने, यता नेपाली बैंकहरूले ऋण फाइल खडा गरेर भुक्तानी दिने परिपाटी देखिएको छ ।
यसमा कतिपय रेमिट्यान्स कम्पनी र बैंकले त विदेशमा अड्किएको रकम राष्ट्र बैंकले कारबाही गर्ला भनेर लुकाउनेसमेत गरेका छन् । राष्ट्र बैंकले यस्तोमा कारबाही गर्ने होइन, सहयोग गर्नुपर्छ, वास्तविकता पहिल्याउने र छानबिन गर्ने गर्नुपर्छ । सम्बन्धित मुलुकको केन्द्रीय बैंकलाई अनुरोध गर्ने, सहयोगका लागि पत्राचार गर्ने, त्यतिले नपुगे सरकारमार्फत कूटनीतिक पहलसम्म पनि गर्नुपर्छ ।
विदेशी मुद्रा भित्रिने र सञ्चिति बढ्ने कुरामा र मुलुकको अर्थतन्त्रमा महŒवपूर्ण कोसेढुंगा साबित हुने काममा नेपाल राष्ट्र बैंकजस्तो जिम्मेवार निकायले त्यसमा कार्यरत पदाधिकारी र कर्मचारीले आफूले इजाजत प्रदान गरेका निकायहरूको काम–कारबाहीहरूमा सकारात्मक सोच राख्ने र सहयोग गर्ने, बैंकिङ क्रियाकलापलाई अझ प्रवद्र्धन गर्ने काम गर्नुपर्छ । तब मात्रै राज्यको नीतिअनुसार केन्द्रीय बैंक राष्ट्र बैंकलाई सुम्पिएको जिम्मेवारी केन्द्रीय बैंकले स्वाभाविक रूपमा गरेको ठहर गरेको मानिन्छ । अन्यथा राज्यको जिम्मेवारी पूरा गरेको मानिने छैन ।
हो, राष्ट्र बैंकका अरू पनि जिम्मेवारी छन् । झनै अहिले अर्थतन्त्रका विभिन्न सूचकहरू तल झरिरहेको समयमा त राष्ट्र बैंकको जिम्मेवारी अहम् हुन जान्छ । यस्तो समयमा राष्ट्र बैंकले आफ्ना निकायलाई स्वस्फूर्त रूपमा सुचारु गर्नुपर्छ । बैंक तथा वित्तीय क्षेत्रमा भइरहेको तरलताको समस्या समाधान गर्न के गर्न सकिन्छ, त्यसतर्फ पहल गर्नुपर्छ ।
अहिले मुलुकमा लगानीयोग्य तरलताको अभावले निजी क्षेत्रलाई समेत प्रभावित बनाएको छ । होला, यसका विभिन्न कारणहरू होलान् । एक त आयात बढेको छ । त्यसले विदेशी विनिमय सञ्चितिमा पनि चाप परेको छ । त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि राष्ट्र बैंकले कदम चाल्नु आवश्यक छ । हुन त केही समयपहिले राष्ट्र बैंकले आयातलाई नियन्त्रण राख्न केहि वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था ल्यायो । तर पनि त्यसले आयातलाई रोक्न नसकेको देखिन्छ । हुन त आयातमुखी अर्थतन्त्र भएको देशमा आयात बढ्नु कुनै नौलो कुरा नहोला, तर त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव गम्भीर छ । नेपालभन्दा तीन गुणा धेरै प्रतिव्यक्ति आय भएको श्रीलंकामा अहिले तेल आयात गर्नसमेत विदेशी सञ्चितिको अभाव भइरहेको छ । नेपालमा पनि त्यस्तो अवस्था नआउला भन्न सकिन्न । त्यसतर्फ पनि राष्ट्र बैंकले आवश्यकीय कदम चाल्नुपर्छ । यसमा सरकारको उल्लेखनीय भूमिका हुन्छ । तर, राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको नाताले सरकारलाई सल्लाह–सुझाव दिन सक्छ । आफ्नो ठाउँबाट हुने कुराहरू कार्यान्वयन गर्न सक्छ । मौद्रिक नीतिमा आवश्यक सुधार गर्न सक्छ । त्यसैले एक त आफू मातहतका बैंक तथा वित्तीय संस्थालाई स्वस्फूर्त रूपमा सञ्चालन गर्ने र अर्को मुलुकमा देखिएको महँगी, तरलता तथा विदेशी मुद्रामा परेको चापलाई कम गर्न उल्लेखनीय भूमिका खेल्नुपर्ने देखिन्छ ।
तर, राष्ट्र बैंक अनावश्यक कुरामा अल्झिने, बैंकहरूलाई व्यापारीको रूपमा हेर्न थाल्ने हो भने त्यसले बैंकिङ क्षेत्रमा स्थायित्व कायम गर्न सक्दैन । त्यसले मात्र मानिसहरूमा नकारात्मक प्रभाव पार्छन् । सर्वसाधारणको बैंक–वित्तीय संस्थालाई हेर्ने दृष्टिकोण पनि बदलिन्छ र अन्त्यमा त्यसले राष्ट्र बैंकलाई नै असर गर्छ । त्यसैले राष्ट्र बैंकका कर्मचारीहरूले त्यो कुरा बुझ्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूको काम मानिसहरूलाई वित्तीय सेवा दिने हो । त्यो काम उनीहरूले गरिरहेका छन् । उनीहरूले गलत गरेको अवस्थामा उनीहरूमाथि कारबाही गर्न सकिन्छ । तर, अनावश्यक रूपमा दबाउन खोज्नु सही हुन सक्दैन । त्यसैले सानातिना कुरामा अल्झिएर बस्नुभन्दा देशमा देखिएका विद्यमान समस्या समाधानतर्फ लाग्नु नै केन्द्रीय बैंकको लागी राम्रो विकल्प हुन्छ ।
साथै, नेपाल राष्ट्र बैंकमा कार्यरत पदाधिकारी, कर्मचारीले आफूबाट इजाजत प्राप्त संस्था अर्थात् बैंक तथा वित्तीय संस्थालाई केवल व्यापारीहरूको रूपमा सोचेर त्यसैअनुसारको व्यवहार गर्नुले अर्को समस्या खडा गर्छ । बैंकहरूले आफ्नो व्यापार चलाएर खाएका छन् भनेर बुझ्नु र हेर्नु नाजायज कुरा हो । यसले बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकबीच दरार पैदा भइरहेको छ । बैंकहरूले नाफा कमाउँछन् । उनीहरूलाई नाफा कमाउन चाप पनि छ तर उनीहरूले केन्द्रीय बैंकको दायराभित्र रहेर केन्द्रीय बैंकले दिएको दररेट, भाउमा कारोबार गरेर नाफा कमाउँछन् । त्यसैले उनीहरूलाई व्यापारीको रूपमा मात्र हेर्नु न्यायोचित हुँदैन । यदि बैंक तथा वित्तीय संस्थाले नाफा नकमाउने हो भने वित्तीय संस्था डुब्दा राष्ट्र बैंककै नालायकी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्