बैंकासुरेन्सका लागि निर्देशिका जारी गर्दे समिति «

बैंकासुरेन्सका लागि निर्देशिका जारी गर्दे समिति

बैंकासुरेन्सलाई व्यवस्थित गर्न बिमा समितिले यससम्बन्धी निर्देशिका ल्याउने भएको छ । निर्देशिकाको संरचना तयार पार्ने र सुझाव संकलन गर्ने काम भइरहेको समितिले बताएको छ । समितिको योजना अनुसार चालु आर्थिक बर्षमा नै निर्देशिका जारी हुनेछ । 
बैंकले बिमाको कामसमेत गर्नुलाई नै बैंकासुरेन्स भनिन्छ । बैंकासुरेन्स भनेको कुनै एक बिमकसँग आबद्ध रही आफनो सञ्जाल उपयोग गरी आफना सेवाग्राहीको बिमा वा सुरक्षण गर्ने कार्य हो । यसलाई बैंक र बिमकबीचको विवाह पनि भन्ने गरिएको पाइन्छ । तर, यसमा बैंक आफैले बिमाको जोखिम भने लिँदैन । बैंकले केबल बिमकको तर्फबाट बिमा बस्तु वा सुरक्षण बस्तुहरूको बिक्री वितरण गर्न आफ्नो भौतिक तथा मानवीय सञ्जाल मात्र प्रयोग गर्छ । 
विश्वमा करिब ३३ वर्ष अघिदेखि नै बैंकासुरेन्सको सुरुवात भएको पाइन्छ । संयुक्त अधिराज्यबाट सुरु भएको बैंकासुरेन्स अहिले विश्वका अन्य मुलुकमा पनि सञ्चालन भइरहेको छ । यस्तै, भारतीय रिजर्भ बैंक अफ इण्डियाले पनि बैंकहरूलाई यो कार्य गर्ने स्वीकृति दिइसकेको छ । तर, नेपालमा भने नेपाल राष्ट्र बैंकले हालसम्म यससम्बन्धी नीतिगत व्यवस्था गरेको छैन । यद्यपी केही वर्षयता केही बैंकहरूले बिमकको तर्फबाट संगठित संस्थाको रूपमा बिमा अभिकर्ताको इजाजतपत्र लिइ बैंक असुरेन्सको कार्य गरेको पाइन्छ ।
नेपालमा पनि बैकासुरेन्स सञ्चालन गरी बिमाको पहुँच विस्तार गर्न समितिले निर्देशिका ल्याउने तयारी गरेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए । “यस विषयमा राष्ट्र बैंकसँग पनि हाम्रो छलफल भएको छ । राष्ट्र बैंकले पनि यससम्बन्धी व्यवस्था गरेपछि बैंकासुरेन्स कार्यले पूर्णता पाउनेछ,” उनले भने । 
बैकासुरेन्समार्पmत बैंकले बिमा व्यवसाय प्रवद्र्धन गर्न पाउनेछन् । तर, बैंककै लगानी  रहेको बिमा कम्पनीको हकमा भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको समितिले जनाएको छ । समितिले गरेको व्यवस्थाअनुसार १ प्रतिशतभन्दा कम लगानी रहेको बैंक र विमा कम्पनी तथा सरकारी लगानी रहेको बैंक र विमा कम्पनीबीच नै बैंकासुरेन्स गर्न सकिनेछ । अन्यको हकमा भने वित्तीय स्वास्थ्य बाझिन सक्ने सम्भावना देखिएको भन्दै यसलाई बन्देज गरिएको छ । तर, बैंकासुरेन्सद्वारा बैंकले अन्य सेवाग्राही तथा सेवाग्राहीको सम्पतिको मात्रै बिमा गर्ने भएकाले यसलाई रोक्नुपर्ने कारण नभएको सुझावहरू संकलन भएको समितिले बताएको छ । 
बैकिङ व्यवसायमा विश्वव्यापी मन्दी आएपछि बैकासुरेन्सको अवधारणा आएको हो । मन्दीका कारण आम्दानीको स्रोत गुमाइरहेका बैंकहरूले बैंकासुरेन्सको खोजी गरेका हुन् । बैंकासुरेन्समार्फत बैंकले कमिसनबापत आम्दानी गर्नसक्ने भएपछि बैंकहरू यसप्रति आकर्षित भएका हुन् । यस्तै, बिमकहरू भने बैंकको ठूला शाखा सञ्जाल र कर्मचारी प्रयोग गरी बिमा व्यवसाय विस्तार गर्न पाउने र खर्चमा कटौती पनि हुने भएपछि यसतर्फ आकर्षित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्