Logo

आयातको कोटा आधा घट्यो

सुनको मूल्य तोलामा लाख नाघ्यो

स्थानीय बजारमा सुनको मूल्यले रेकर्ड कायम गर्दै प्रतितोला एक लाख रुपैयाँ नाघेको छ । सुनको मूल्यले कीर्तिमान राखेकै दिन नेपाल राष्ट्र बैंकले भने आयातको दैनिक कोटा घटाएर आधा बनाएको छ ।
अबदेखि नेपालमा दैनिक १० किलोमात्रै सुन आयात गर्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको हो । यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने व्यवस्था थियो । सुनको मूल्य बढेकाले आयातमा कटौती गरिएको बैंकले जानकारी दिएको छ । यसअघि राष्ट्र बैंकले पहिलो चरणको लकडाउनमा पनि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सुन आयातको कोटा दैनिक २० किलोबाट घटाएर १० किलो बनाएको थियो । अर्थतन्त्र चलायमान भएपछि पुनः बढाएर दैनिक २० किलो आयात गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको थियो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा २७ अर्ब ६२ करोड ८२ लाख ९१ हजार रुपैयाँको सुन आयात भएको छ । सोही अवधिमा १५ अर्ब १६ करोड ९७ लाख ८९ हजार रुपैयाँबराबरको चाँदी आयात भएको छ ।
नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन तोलामा २ हजार बढेर १ लाख १ हजार ९ सय पुगेको हो । शुक्रबार प्रतितोला सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय रुस र युक्रेनबीचको युद्धका कारण सुनमा लगानीकर्ताको आकर्षण बढ्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हो । त्यसकै असर नेपाली बजारमा पनि परेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । “अन्य क्षेत्र लगानीका लागि सुरक्षित नभएकाले सुन सुरक्षित लगानीको क्षेत्र देखिएको छ । आगामी दिनमा अझै मूल्य बढ्ने देखिन्छ,” उनले भने । डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले पनि पनि सुनको मूल्य बढ्न गएको उनको भनाइ छ ।
यसअघि २०७७ भदौ २३ मा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमिक रुपमा घटेर तोलामा ९० हजार रुपैयाँमा झरेको थियो । मूल्य बढेपछि स्थानीय बजारमा सुन कारोबार ह्वात्तै घटेको छ । सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुनको कारोबार हुने गरेकोमा अहिले घटेर कारोबार ५० प्रतिशतमा झरेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार मूल्य बढेकाले अहिले दैनिक १० देखि १५ किलोमात्र सुन कारोबार हुने गरेको छ । विगतका वर्षमा मूल्य बढेका बेला बिक्री गर्ने ग्राहक आउने गरेकोमा यसपटक भने किनबेच नै ठप्प भएको शाक्यले जानकारी दिए ।
यसैबीच, चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्