Logo

प्रि–एजीएम गर्नुपर्ने कारण र विशेष सेयरधनी

चालू आर्थिक वर्षको समाप्तिपछि गरिने वार्षिक साधारणसभाहरूमा कम्पनीको समीक्षा वर्षमा भएगरेका काम–कारबाही, गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुपर्ने हुन्छ ।

फागुन ६ गते आफ्नो वार्षिक साधारणसभा गरेको एक कम्पनीले प्री–एजीएम गरेको चर्चा वार्षिक साधारणसभामा सेयरधनीहरूमाझ चलेको थियो । त्यस प्रि–एजीएममा केही वक्ता सेयरधनीहरूलाई छलफल गर्ने भनेर बोलाएर कम्पनीले कक्टेल डिनर र यातायात खर्च भनेर २५ सय रकमसमेत दिएको भनेर चर्चासमेत चलेको थियो । के हो त वास्तविकता ? के हो त प्रि–एजीएम ? कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा गर्नुभन्दा पहिले सभाहरूमा बोल्ने केही वक्ता सेयरधनीहरूलाई वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रस्तावहरूका विषयमा छलफल गर्न भनेर भेला गरिने कार्यक्रमलाई प्रि–एजीएम भनेर भन्ने गरिन्छ । कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा गर्नेभन्दा केही दिनअगाडि प्रि–एजीएम गर्ने गर्दछन् । केही कम्पनीहरूले केही सेयर धनीहरूलाई पारवहन खर्च भनेर केही रकमसमेत दिने गरिन्छ भन्ने चर्चा पनि हुने गरेका छन् । के यो साँचो हो त ? कि हल्ला मात्रै ? कि केही कम्पनी र सेयरधनीहरूलाई बदनाम मात्र गर्न खोजेको हो ? त्यसो त यसपालि कोभिड–१९ को कारणले प्रि–एजीएम गरेको त्यति सुन्नमा आएनन् ।
आखिर किन गर्छन् त कम्पनीहरूले प्रि–एजीएम ? सेयरधनीहरूबीच चासोको विषय बनेका छन् । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीले आर्थिक वर्ष सकेपछि वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ । त्यसैले केहि बैंक तथा वित्त कम्पनीहरूले साधारणसभाभन्दा केही दिनअगाडि तारे होटलहरूमा प्रि–एजीएम गर्ने गरेका छन् भने केही कम्पनीहरूले आफ्नो कार्यालयमा गर्ने गरेको बताइन्छ । कतिपय प्रि–एजीएम गर्ने गरेका कम्पनीहरूको भनाइमा कम्पनी र सेयरधनीहरूबीच अन्तक्र्रिया गर्नका लागि यसको आयोजना गरिएको हो । तर, यस्ता प्रि–एजीएमहरूमा साधारणसभाहरूमा बोल्ने गरेका केही सीमित वक्ता सेयरधनीहरूलाई मात्र किन बोलाइन्छ ? अरू इच्छुक सेयरधनीहरूलाई किन बोलाइँदैन त ? प्रश्न छ । त्यसैगरी कम्पनीहरूको वार्षिक उत्सव होस् वा अरू कुनै कम्पनीका कार्यक्रमहरूमा पनि साधारणसभामा बोल्ने गरेका केही सेयरधनीहरूलाई मात्र कम्पनीले बोलाउने गरेको चर्चा पनि छ । वार्षिक साधारणसभाहरूमा नै कम्पनीका बारेमा कम्पनीको प्रतिवेदनका बारेमा कम्पनीको कार्यको गतिविधिका बारेमा आ–आफ्नो भनाइहरू राख्न नै पाइन्छ भने किन अन्तक्र्रियाको बहानामा प्रि–एजीएम गरी केही वक्ता सेयरधनीहरूलाई मात्र बोलाउने गरेको होला । कतिपय सरोकारवालाहरूको भनाइमा वार्षिक साधारणसभाहरूमा केकस्ता भनाइ राख्ने भन्नेबारेमा छलफल गर्ने गरेको र कम्पनीको तर्फबाट पनि केही टिप्स दिने गरेको र त्यहीअनुसार नै साधारणसभाहरूमा सेयरधनीहरूले आ–आफ्नो भनाइ राख्ने गरेको बताइन्छ । यदि यस्तो हुने गरेको र यो चर्चा साँचो हो भने यो पनि एक किसिमको विकृति हो भन्दा फरक नपर्ला । यस्ता प्रवृत्तिहरूलाई हटाउनुपर्दछ । तर, कतिपयको भनाइमा साधारणसभाहरूमा बोल्ने गरेका केही चर्चित वक्ता सेयरधनीहरूलाई कतिपय कम्पनीहरूले नै आफ्नो सभामा बोल्नका लागि बोलाउने गरेका छन् । यस्तो प्रवृत्तिले कतिपय कम्पनीको साखमा नै असर पर्ने गरेको पनि छ ।
नेप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले आयोजना गर्ने वार्षिक साधारणसभामा कम्पनीको समीक्षा, वर्षमा भएगरेका काम–कारबाही, गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यस्तै साधारणसभामा आगामी वर्र्षमा गर्नुपर्ने भावी योजनाका बारेमा पनि छलफल गर्ने र योजनाहरू, प्रतिवेदनहरू पारित गर्ने काम हुन्छ । समीक्षा वर्षमा भएगरेका काम, गतिविधिहरूको प्रतिवेदन र प्रस्तावहरू साधारणसभाको बहुमतले पारित भएपछि मात्र लागू हुने प्रावधान रहेको छ । त्यसैले वार्षिक साधारणसभा महŒवपूर्ण हुन्छ । अधिकांश वार्षिक साधारणसभाहरूमा कम्पनीहरूले पेस गर्ने गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने काम हुन्छ । यस्ता छलफलहरूमा टाठाबाठा भनिने केही वक्ता सेयरधनीहरूले बोल्ने गर्दछन् । अधिकांश सेयरधनीको भनाइमा सबैजसो साधारणसभाहरूमा बोल्ने गरेका अनुहारहरू एउटै हुन्छ । सभामा उपस्थित सेयरधनीहरू नयाँ–नयाँ सेयरधनीहरूले पनि बोल्नुपर्ने मान्दछन् । सभामा उपस्थित सेयरधनीहरूसँग छलफल नगरी सेयरधनीका समस्याहरूलाई पहिचान, जानकारी नलिई÷नगरी आफ्नो योजनाअनुसार नै बोल्ने गरेका यस्ता विशेष सेयरधनीहरूको कम्पनीसंग के कस्तो साँठगाँठ रहन्छ, त्यो खोजीको विषय हो । सभामा उपस्थित धेरैजसो सेयरधनीहरूले आफूलाई लागेका एउटा–दुइटा जिज्ञासा राख्न पाउने र व्यवस्थापनबाट पनि तुरुन्तै उत्तर पनि दिन सकिने भएकाले समयको पनि बचत हुन्छ । त्यसो त कतिपय कम्पनीहरूले आफ्ना केही भनाइ साधारणसभामा सम्प्रेषण गर्न लगाउनका लागि पनि प्रि–एजीएम गर्ने गरेको पनि चर्चा चल्ने गरेका छन् । सायद हुन सक्छ, यही कारणले पनि प्रि–एजीएममा केही वक्ता सेयर धनीहरूलाई मात्र बोलाउने गरेको होला ।
वार्षिक साधारणसभा हुनुभन्दा अगाडि प्रि–एजीएम गर्ने गरेका र प्रि–एजीएममा के–कस्तो कसरी बोल्ने भनेर छलफल हुने भएकाले र आर्थिक लेनदेन पनि हुने आशंका गरिएको होला । एकै दिन धेरै साधारणसभाहरू भए आफूले भ्याउनेसम्ममा हस्याङफस्याङ गरी आफ्नै गाडी भाडा खर्च गरी पुगेका यस्ता विशेष सेयरधनीको चर्चा बजारमा भइरहेको पाइन्छ । त्यसैले यदि कुनै कसैमा यस्तो प्रवृति भए यसलाई हटाउन जरुरी छ । कम्पनीहरूले पनि आफ्नो साखमा असर हुने काम, गतिविधि गर्न नहुने आम सेयरधनीहरूको भनाइ रहेको छ । यसमा स्वयम् कम्पनीहरूले नै विशेष ध्यान दिनुपर्ने देखिन्छ । वार्षिक साधारणसभाहरूमा सेयरधनीहरूले बोल्ने नगरे पनि सभामा कुनै असर पर्दैन ।

प्रतिक्रिया दिनुहोस्