Logo

युक्रेनबाट ५११ नेपाली सुरक्षाका लागि छिमेकी देशमा

नेपाली राजदूतावास बर्लिनले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित ठाउँमा पु-याउन सहजीकरण गर्ने कार्य जारी रहेको जनाएको छ । हालसम्म युक्रेनमा रहेका अधिकांश नेपालीहरू सुरक्षित स्थानतर्फ स्थानान्तरण भइसकेका छन् । हालसम्म ५११ जना नेपालीहरु सो मुलुकबाट सीमावर्ती मुलुकहरूमा पुगेको दूताबासका तृतीय सचिव सहारा चौंलागाईले जानकारी दिएका छन् ।
ती मध्ये पोल्यान्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना प्रवेश गरिसकेका छन् । उद्धार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । नेपाली राजदूतावास, बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ ।
युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदैछन् भने केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा छन् । युक्रेनको सीमामा रहेका मोल्दोभा, रोमानिया, हंगेरी, स्लोभाकिया र पोल्यान्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकहरूको सुरक्षित आगमनमा सहयोग गरिदिन नेपाल सरकारका तर्फबाट अनुरोध भइसकेको छ । ती सबै मित्रराष्ट्रहरूबाट प्राप्त सहयोग गर्ने आश्वासन प्राप्त भएको दूताबासले जनाएको छ ।

उद्धार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सम्मिलित एक कार्य समिति कृयाशील रहेको छ । नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बास र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको जनाइएको छ । बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का पोल्यान्ड युक्रेन सीमा क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षित प्रस्थानमा सहयोग पु¥याउन पोल्यान्ड खटिएको जनाईएको छ ।
युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडानहरू मार्फत ल्याइदिन भारत सरकारलाई अनुरोध गरिएकोमा सकारात्मक जवाफ प्राप्त भएको छ । सो सहयोग उपयोग गर्न बर्लिनस्थित नेपाली राजदूताबासबाट ती मुलुकहरूमा रहेका भारतीय दूतावासहरूसँग समन्वय भइसकेको छ । रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको छ । त्यस्तै, त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको छ ।
युक्रेनबाट आई युरोपका विभिन्न देशमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कन नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने जनाउदै इच्छुक सबैलाई नेपाली राजदूतावास, बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्