संसद्को गतिरोध चाँडो अन्त्य हुनुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।
‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ,’ उनले भने । पूर्वसभामुखसमेत रहेका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको उनको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले संघीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी संघीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गरे । उनले पेशागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताए । ‘सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ,’ उनले भने । उपसभापति गुरुङले नेता र कर्मचारी देश र जनताप्रति इमान्दार भए मुलुकभित्र रहेको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य हुने बताए । आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्रेड युनियनको अधिकारसहित सङ्घीय निजामती ऐन अगाडि बढाउन कांग्रेस कटिबद्ध रहेको बताए । उनले निजामती कर्मचारी देशको स्थायी सरकार भएको बताउँदै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन कर्मचारीको ठूलो भूमिका रहेको बताए ।
कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले विधिसम्मत् ढङ्गले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन कांग्रेसको वर्तमान नेतृत्व लागेको भन्दै पार्टीका भातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनमा कांग्रेस नेतृत्वबाट हस्तक्षेप गर्न नहुने बताए । संसद्को अधिवेशन टुङ्गिनुभन्दा पहिले निजामती ऐन पास गराउने दिशामा वर्तमान सरकार लाग्ने उनको भनाइ छ । महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै सम्पन्न हुने स्पष्ट पारे ।
नेपाल निजामती कर्मचारी युनियनका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै सेवाका कर्मचारीको अधिकारलाई समेटेर आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने धारणा राखे । उनले कम्युनिष्ट सरकारले विचार र आस्थाका आधारमा कर्मचारी सरुवा, बढुवा गरेर कर्मचारीलाई दुःख दिएको गुनासो गरे ।