संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए । उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए । जनताको सेवकका रूपमा कर्मचारीहरुले काम गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले भने, ‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ । संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील छ । कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरुलाई सन्तुष्ट बनाउने काम गरिनेछ । जनतामा सहज ढंगले सेवा उपलब्ध गराउन पनि म कर्मचारी साथीहरुलाई आग्रह गर्दछु । मुलुकको स्थायी सरकारको रुपमा परिचित निजामती सेवा राज्य संचालनको मेरुदण्ड हो । राजनीतिक नेतृत्वलाई महत्वपूर्ण सूचना जानकारी गराई राज्यको नीति निर्माणमा सहयोग नागरिकको सेवामा कर्मचारी संयन्त्रले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सरकार निजामती सेवाको माध्यामबाट जनताको घरदैलो पुग्छ । यसैकारण फष्ट कन्टयाक्ट प्वाइन्ट नै जनताको कर्मचारी नै हो । हरेक ठाउँमा कर्मचारी हुन्छन । राष्ट्रसेवकको अनुहारमा सरकार प्रतिविम्बित हुन्छ । राष्ट्रसेवकहरुले प्रदान गर्ने सही व्यवहार र सेवाले सरकारको छवि उच्च हुन्छ । कर्मचारीले आफ्नो छवीलाई स्वच्छ राख्न सक्नुपर्दछ । जनताको सेवकको रुपमा आफूलाई चिनाउन सक्नु पर्दछ ।’
प्रधानमन्त्री देउवाले कर्मचारीहरु जनताको निरन्तर सम्पर्कमा रहने हुनाले उनीहरुले आफ्नो छवीलाई स्वच्छ बनाइराख्नु पर्ने बताए ।