किसानलाई मल बिउ उपलब्ध गराउन माग

नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानलाई मल बिउ उपलव्ध गराउन माग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई ज्ञापनपत्र बुझाएर संघले किसानलाई तत्काल मल, बिउ उपलब्ध गराउन माग गरेको हो ।
संघले सरकारले मल, बिउलगायत किसानका लागि आवश्यक अन्य वस्तु सहज उपलब्ध गराउन नसक्दा अहिले पनि किसानहरु मारमा परिरहेको भन्दै तत्काल मल, बिउ उपलब्ध गराउन माग गरेको हो ।
संघका अध्यक्ष खेमबहादुर पाठकले सरकारले सहकारी संस्थामार्फत मल, बिउ किसानलाई प्रदान गर्ने योजना र कार्यक्रम अगाडि सारेको भएपनि अहिले त्यो काम हुन नसकेकोे जानकारी दिए । मल बिउ बिना उत्पादन बढाउन नसक्ने भन्दै उनले सरकारले तत्काल उपलव्ध गराउनुपर्ने बताए ।
सहकारी संस्था, सञ्चालक र किसानहरु अहिले सहकारीमा मल, बिउ प्राप्त नहुँदा दुखी भएको उनको भनाइ छ । सहकारी संस्थालाई सरकारले मल बिउ उपलब्ध गराउन नसकेको अवस्थामा सहकारीले मल बिउ दिन सकेन भन्ने सन्देश फैलाएको प्रति गम्भिर ध्यानाकर्षण भएको संघको भनाइ छ । सरकारले मलमा किसानलाई अनुदान दिएपनि बाली लगाउने बेला सहजै पाउदैनन् ।
सहकारी संस्था आफंै बिउ र मल उत्पादन गर्ने र बिक्री गर्ने कार्यमा संलग्न नभएको भन्दै सरकारले मल बिउ उपलब्ध गराउन नसकिरहेको अवस्थामा सहकारीका सदस्य किसानलाई भड्काउने कार्य नगर्नसमेत सबैलाई संघले अपिल गरेको छ ।
संघले जतिसक्दो छिटो सहकारी संघ संस्थाहरुलाई मल बिउको उपलब्धता बढाई किसानलाई कृषि जन्य उत्पादनमा ढुक्कसँग लाग्ने वातावरणको विकास गर्न माग गरेको छ ।
संघको नेपालका ७५ वटा जिल्लामा सञ्जाल विस्तार भएको ११ सय भन्दा बढी सहकारी संस्था सदस्य रहेको र करिव ४० लाखभन्दा बढी सदस्य रहेका छन् । यस संघले आफ्ना सदस्य संस्थाहरु मार्फत सदस्य किसानलाई सीप, क्षमता र व्यवसायिक अभ्यासका लागि सहयोग प्रदान गर्दै आएको छ ।