धनगढीको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा
धनगढी- सुदूरपश्चिम प्रदेशका चर्चित व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि व्यवसायी हमालले मेयर पदको स्वतन्त्र उम्मेदवारी दिने बिहीबार धनगढीमा एक समारोह आयोजना गरी घोषणा गरेका हुन् । उनले आफू निर्वाचित भएमा सरकारी सुविधा नलिएर पाँच वर्षसम्म सेवा गर्ने घोषणा समेत गरेका छन् ।
अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर दोस्रो स्थान प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका हमालले पुनः पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनी स्थानीय तहको निर्वाचनमा पराजित भइसकेपछि विवेकशील साझा पार्टीमा आवद्ध भएका थिए ।
धनगढी उपमहानगरपालिकालाई पाँच वर्षमा विकासको मोडेल बनाउने घोषणा सहित उम्मेदवारी घोषणा गरेका हमालले यसपटक आफूसँगै चार जना व्यवसायीलाई वडाध्यक्षको उम्मेदवार समेत ल्याएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा सिद्धराज पनेरु, ५ को वडाध्यक्षमा पदमराज भट्ट, १४ को वडाध्यक्षमा यम लामिछाने मगर र १५ को वडाध्यक्षमा कमलबहादुर ढाँटले हमालसँगै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुले पनि हमालसँग स्वतन्त्र उम्मेदवार बन्नका लागि विवेकशील साझा पार्टी परित्याग गरेका छन् ।