Logo

सिन्धुलीगढी रानीदरबार पुनर्निर्माण धमाधम

सिन्धुली-सिन्धुलीगढी रानीदरबार निर्माण कार्य धमाधम भइरहेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–३ सिन्धुलीगढीमा रहेको रानीदरबारको पुनर्निर्माण कार्य ६० प्रतिशतभन्दा बढी भइसकेको छ । झन्डै ५० प्रतिशत दरबार निर्माणको कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ । बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको चार करोड ३८ लाख ९९ हजार लागतमा निर्माण भइरहेको रानीदरबारको काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । भत्किएको झन्डै तीन दशकपछि सिन्धुलीगढीस्थित रानीदरबार बन्न थालेको हो ।
तत्कालीन विद्रोही समूह माओवादीले राज्यविरुद्ध आन्दोलन सुरु गरेसँगै सिन्धुलीगढीको संरक्षण हुन छाडेपछि दरबार भग्नावशेष भएको थियो ।
२०५२ सालमा माओवादीले सिन्धुलीगढीबाटै आन्दोलन सुरु गरेसँगै त्यहाँ सुरक्षाकर्मी बस्न छाडेपछि रानीदरबार संरक्षणको अभावमा भग्नावशेष भएको हो । पर्यटन विकास आयोजना प्रमुख विष्णु भण्डारीका अनुसार आउँदो असार मसान्तसम्म निर्माणको काम सक्ने गरी ठेक्का लगाइएको छ । “निर्माणको काम तीव्र गतिमा भइरहेको छ, समयमै काम सक्ने गरी निर्माण कम्पनी लागेको जानकारी आएको छ,” उनले भने, “यदि समयमा निर्माण नसकिए नियमअनुसार म्याद थप गर्ने प्रावधान हुन्छ ।” २०७७ साल पुस २१ गते सम्झौता भएको उक्त सिन्धुलीगढीस्थित रानीदरबार पुनर्निर्माण कार्य २०७९ जेठ १६ गते निर्माण सम्पन्न गर्ने गरी तुल्सी÷एरिया जेभीले निर्माणको जिम्मा पाएको छ । रानीदरबार पुरानै शैलीमा निर्माण भइरहेको कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए । “पहिला जस्तो थियो दरबार उस्तै बन्ने देखिएको छ,” ढकालले भने, “दरबार निर्माणसँगै पर्यटकहरू बढ्ने निश्चित छ ।”
२०४५ सालको भूकम्पबाट भत्किएको रानीदरबार सशस्त्रद्वन्द्वसँगै तहसनहस भएको थियो । द्वन्द्वको प्रभावमा परेको दरबारको संरक्षण नहुँदा पुराना डिजाइनमा बनेका इँटा काठसमेत चोरी भई दरबारको निशाना नै मेटिने अवस्थामा पुगिसकेको थियो । स्थानीयका अनुसार पुनः दरबार निर्माण भइरहँदा पुरानै झल्को सिन्धुलीगढीले दिन थालेको छ । दरबारमात्रै नभएर सिन्धुलीगढीमा ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालयसमेत निर्माण भइसकेकाले पर्यटकहरू दैनिक बढ्न थालेको कमलामाई नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी अवलोकन भ्रमणका लागि आउने आन्तरकि तथा बाह्य पर्यटकहरू बढ्दै गएका छन् । पर्यटक प्रवेश शुल्कबाट एकैदिन एक लाख १२ हजार रुपैयाँसम्म राजस्व संकलन हुने गरेको खत्रीको भनाइ छ । सिन्धुलीगढीमा युद्ध संग्रहालयको निर्माण भएसँगै अवलोकन गर्न राजधानी काठमाडौं, रामेछाप, दोलखा, काभ्रेका साथै पूर्वी नेपाल र मध्य तराईका जिल्लाबाट हजारौं पर्यटक आइपुग्ने गरेका छन् । नेपाली सेनाको करिब आठ करोड रुपैयाँको लागत सहयोगमा गत साउनमा युद्ध संग्रहालय निर्माण भएपछि सिन्धुलीगढी अवलोकनका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । – उर्मिला भट्टराई

प्रतिक्रिया दिनुहोस्