घरघरमा डिजिटल परिचयपत्र

गुल्मी-गुल्मीमा प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । जिल्लाको मालिका गाउँपालिकामार्फत भिलेज प्रोफाइल कार्यक्रमअन्तर्गत गाउँपालिकाका प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्ने भएका हुन् ।
भिलेज प्रोफाइलअन्तर्गत घरघरमा डिजिटल घर नम्बर कायम गर्ने गरेर डिजिटल परिचयपत्र बनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । “सबै प्रकारका तथ्यांक हेर्न सकिने गरेर डिजिटल परिचयपत्र बनाउन लागेका हौं । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “करिब पाँच लाखको लगानीमा यो आर्थिक वर्षमा काम सक्ने गरेर अगाडि बढेका छौं ।” परिचयपत्रमा प्रत्येक घरको आर्थिक, सामाजिक र पारिवारिक तथा अन्य सबै प्रकारका २ सय ४७ प्रश्नको उत्तर संकलन गरिने छ ।
अब लगत्तै गाउँपालिका अन्तर्गतका कर्मचारीले घरघरमा गएर तथ्यांक संकलन गर्ने छन् । डिजिटल परिचयपत्रले योजनाको कार्यान्वयनमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । परिचयपत्रको माध्यमबाट गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकको अवस्था बुझ्न सकिने गाउँपालिकाले जनाएको छ । डिजिटल परिचयपत्रका लागि घरघरमा खटिने कर्मचारीलाई अभिमुखीकरण समेत गरिएको छ । अभिमुखीकरण र तालिमपछि कर्मचारीहरू घरघरमा पुगेर तथ्यांक संकलनको काम गर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगतबहादुर पौडेलले बताए ।