Logo

सेतीदोभानको अलपत्र पुल तीन महिनामै बन्ने

स्याङ्जा-विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको स्याङ्जाको सेतीदोभानमा निर्माणाधीन पक्कीपुल तीन महिनाभित्र बनाउने सहमति भएको छ । सरोकारवाला पक्षबीच भएको द्विपक्षीय सहमतिअनुसार निर्माण व्यवसायीले तीन महिनामा सक्ने गरी पुल निर्माणको कार्य सुरु गरेको छ ।
आँधीखोला गाउँपालिकाको सेतीदोभान र फापरथुम जोड्ने गरी निर्माणाधीन मोटरेबल पुल बन्न नसकी स्थानीयको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पुल निर्माणमा चासो बढाएका थिए । अलपत्र अवस्थामा रहेको पुल निर्माण कार्यका लागि ठेकेदार कम्पनी र सडक डिभिजनले स्याङ्जा प्रशासनमा सरोकारवालाबीच तीन महिनाभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने लिखित सहमति भएको छ ।
सम्बन्धित निर्माण व्यवसायी, सडक डिभिजन कार्यालय पोखरा, स्थानीय सरोकारवालाबीच पटकपटक छलफल गराएपछि निर्माणकार्य अघि बढाउन आवश्यक पर्ने कार्ययोजना प्रजिअ पौडेलले तयार पारेका थिए । कार्ययोजना अनुसार पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।
“चालू आर्थिक वर्षमै सम्पन्न गर्ने गरी सरोकारवाला सबैलाई काम अगाडि बढाउन भनिएको छ, आशा छ, चालू वर्षमा पुल निर्माण सम्पन्न हुनेछ ।” प्रजिअ पौडेलले भने, “०७१ असोजमा सुरु गरिएको मोटरेबल पुल ०७३ असोजमा सक्नुपर्ने थियो ।” तर, निर्माण सुरु भएको ५÷६ महिनापछि रोकिएको पुल सम्झौता अनुरुप पाँच वर्षअघि हस्तान्तरण गर्नुपर्ने थियो ।
निर्माण व्यवसायी र सडक डिभिजनको लापरबाहीका कारण पुल निर्माण हुन नसकेको बताउँछन् गाउँपालिकाका स्थानीय । पुल निर्माणमा दुबै पक्षका कमीकमजोरी छन् । दुवैले कमजोरी सुधार गर्दै अघि बढ्न स्थानीयले आग्रह गरेका छन् ।
अलपत्र परेको पुलका कारण स्थानीयले धेरै दुःख भोग्दै आएका छन् । पटकपटक गरी सम्झौता र सहमति बने पनि पुल बन्न नसक्दा स्थानीय नागरिक हैरानी भोग्न बाध्य छन् । उता राज्यको लाखौं रकम नष्ट भएको छ । त्यसो त, निर्माण व्यवसायी ऋषिराम गौतमले पनि सडक डिभिजनले आफूहरूलाई कुनै किसिमको डिजाइन नदिने तर बनेपछि भत्काउने काम गरेकाले पुल निर्माणमा कठिनाइ भएको सुनाए ।
“विगत लामो समयदेखि पुल अलपत्र बन्यो भन्दै स्थानीयको गुनासो आएका थिए, गुनासो आउना साथ बनाउन थाले पनि सडक डिभिजनले फेरि भत्काउन थाल्छ,” उनले भने, “पटकपटक पुल भत्काउँदा निर्माण कम्पनीको लाखौं रुपैयाँको नोक्सान भएको छ ।”
सडक डिभिजन कार्यालय पोखराका डिभिजनल इन्जिनियर पारशमणि हमालले तीन महिनाभित्र निर्माण सम्पन्न गर्न आग्रह गरे । पुल निर्माण गर्नका लागि आवश्यक पर्ने कामदारलगायत थप गर्नुपर्ने काम कार्यालयले सहयोग गर्ने हमालले बताए ।
उक्त पुल निर्माणको जिम्मा कान्छाराम–आशीष जेबीले पाएको थियो । ४० मिटर लम्बाइ र सात मिटर चौडाइको सो पुल तीन करोड २७ लाखको लागतमा दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी तत्काीिलन समयमा सम्झौता भएको थियो । निर्माण कम्पनीका लाखौं मूल्य बराबरका सामग्री नष्ट भएको देखिन्छ भने पुल वरपर रहेका फलाम, ब्लक, रड, सिमेन्ट, मिस्चर मेसिन, जेनेरेटर, काठ तथा फलामे सटिङ्का सामग्री यत्रतत्र छरिएका छन् ।
आँधीखोलामा निर्माणाधीन पुलले सडकमार्फत सेतीदोभान बजारसँग जोडेको छ । पुलअलपत्र अवस्थामा हुँदा आवतजावतमा मात्रै समस्या नभएर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीमा समेत कठिनाइ भएको स्थानीय जयराम पौडेलले जानकारी दिए ।
समयमै पुल निर्माण भएमा नेपालकै पहिलो ग्रामिण पर्यटकीयस्थल सिरुवारी पुग्ने छोटो र सजिलो मार्ग तयार हुन्छ । यहाँबाट जिल्लाका दरौं, पञ्चमूल, आरूचौर, चिलाउनेवास, विचारीचौतारा, फापरथुम र छिमेकी जिल्ला पर्वतका एक दर्जन वडाका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्