माल्दिभ्समा नेपाली श्रमिक पठाउन पहल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरूबीच नेपाल–माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको हो ।
भेटमा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताएका थिए । पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ । माल्दिभ्समा ५ हजारभन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् । मन्त्री श्रेष्ठले मेडिकल क्षेत्रसहित पर्यटन, निर्माण लगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुनसक्ने रोजगारीको अवसरबारे चासो राखेका थिए । नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्सका सरकारी अस्पतालमा रोजगारी उपलब्ध गराउन नेपाल–माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा २ सयभन्दा धेरै नेपाली डाक्टर तथा नर्स कार्यरत छन् ।
उनीहरूले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरूले मुद्रा विनिमयको सुविधा नदिँदा अनौपचारिक बजारमा महँगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको जनाउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरूमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरे । मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरूलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोगसम्बन्धी सम्झौता नवीकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । सो अवसरमा राजदूत नियाजले माल्दिभ्समा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि पहल गर्ने बताएका थिए ।