युवा तथा साना व्यवसायी स्वरोजगार कोषको १३ वर्ष
११ अर्ब लगानी, ८३ हजार स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।
कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत तीन अर्ब ८२ करोड दुई लाख ८३ हजार लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । उनले यो अवधिमा कोषले एक हजार ९ सय ६८ सहकारी संस्था, २६ बैंक तथा वित्तीय संस्थामा लगानी गरेको बताए । यसैगरी कोषले १३ हजार ७ सय ६५ व्यवसायीको ब्याज अनुदानअन्तर्गत १५ करोड ३३ लाख ५ हजार रुपैयाँ वितरण गरेको थियो । यसैगरी कर्जा व्यवस्थापन शुल्कअन्तर्गत ३८ हजार लाभग्राही व्यवसायी रहेकोमा सो शीर्षकअन्तर्गत एक करोड ९० लाख ६९ हजार पाँच सय कर्जा व्यवस्थापन भुक्तानी गरेको जनाएको छ । यसैगरी एक हजार ६१ व्यवसायीको बिमा क्षतिपूर्तिवापत ६ करोड २४ लाख ४५ हजार रुपैयाँ तिरेको जनाएको छ ।
श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान बेरोजगारी समस्याको समाधानाका लागि बेरोजगार युवालाई स्वरोजगारका अवसर सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ अनुसार २०६५ सालमा यो कोष स्थापना गरिएको थियो । कोषले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट रकम प्राप्त गरी परिचालन गर्नसक्ने कोषको स्थापना गरिएको हो । कोषले पुँजीको अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ । कोषले आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपांगता भएका व्यक्ति द्वन्द्वपीडित, पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिव किसानलाई, परम्परागत सीप भएका युवालाई स्वरोजगार कार्यक्रम सञ्चालन गर्न कर्जा उपलब्ध गराई आर्यआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज उद्देश्य रहेको जनाएको छ ।
कोषका काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम, तराई–मधेस स्वरोजगार कार्यक्रम, नियमित स्वरोजगार कार्यक्रम, कोसी इकोनोमिक करिडोर, भेरी–कर्णाली करिडोरलगायतका कार्यक्रम सञ्चालन छन् । कोषले व्यावसायिक खेती तथा पशुपंक्षीपालन, दुधजन्य व्यवसाय, माछापालन, कृषि तथा वनजन्य उद्योग, घरेलु तथा साना उद्योग तथा अन्य व्यापार व्यवसाय, सहर र बजार क्षेत्रमा रिक्सा, विद्युतीय रिक्सा, ठेलागाडा सेवा सञ्चालनलगायतका सेवामूलक स्वरोजगार व्यवसायमा युवालाई ऋण सहयोग गर्दै आएको छ ।
कोषले वित्तीय संस्था तथा सहकारी संस्थाहरूलाई थोक कर्जा मागका लागि प्रस्ताव आह्वान गरी प्राप्त प्रस्तावहरू ऋण लगानी गर्ने जनाएको छ । कोषले बैंक, वित्तीय संस्थालाई बढीमा पाँच करोडसम्म र सहकारी संस्थालाई कम्तिमा २० लाख र बढीमा एक करोडसम्म कर्जा दिन सक्ने छ ।
कोष र वित्तीय संस्था एवं सहकारी संस्था बीच सम्झौता भएको रकमलाई कोषले वित्तीय संस्था एवं सहकारी संस्थालाई पहिलो किस्ता ५० प्रतिशत, दोस्रो किस्ता ५० प्रतिशत गरी दुई किस्तामा वा आवश्यकताको आधारमा एउटै किस्तामा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । आशय पत्रअनुसार वित्तीय संस्था एवं सहकारी संस्थाले व्यक्तिलाई बढीमा दुई लाखसम्म उपलब्ध गराउन सक्ने उल्लेख छ । समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा प्रतिव्यक्ति २ लाखभन्दा नबढ्ने गरी वित्तीय संस्था एवं सहकारी संस्थाले सामूहिक रूपमा ३० लाखसम्म कर्जा लगानी गर्नसक्ने उल्लेख छ । बैंक, वित्तीय संस्था र सहकारी संस्थाले परियोजनाको आधारमा कोषलाई बढीमा पाँच वर्षभित्र कर्जा भुक्तानी गरिसक्नु पर्नेछ ।
वित्तीय संस्था र सहकारी संस्थाले कोषलाई त्रैमासिक किस्ताअनुसार साँवा र ब्याज भुक्तानी गर्नु पर्नेछ । १८ वर्ष पूरा भई ६० वर्षसम्मका लक्षित नेपाली नागरिक यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरूलाई वार्षिक चार प्रतिशतमा कर्जा लगानी गर्नेछ । बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरूले कोषको उद्देश्यअनुसार व्यक्तिहरूलाई वार्षिक ८ प्रतिशतभन्दा नबढ्ने गरी लगानी गर्नेछन् ।