दुई दिनमा ३६ हजारले गरे अवलोकन
२२ औं फ्लोरा एक्स्पो २०७५
राजधानीको भृकुटीमण्डपमा जारी २२ औं पुष्प मेलाको दुई दिनसम्म ३६ हजारले अवलोकन गरेका छन् । शुक्रबारदेखि सुरु भएको मेलामा पहिलो दिन साढे १२ हजारले अवलोकन गरेकोमा शनिबार अवलोकनकर्ताको संख्या दोब्बरले बढेर साढे २३ हजार पुगेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
शुक्रबार र शनिबार गरी करिब ४१ लाख रकमबराबरको कारोबार भएको फ्यानका महासचिव विश्वमणि पोख्रेलले बताए । पहिलो दिन शुक्रबार १६ लाखको कारोबार भएकोमा दोस्रो दिन २५ लाखबराबरको कारोबार भएको उनले बताए । आइतबारसम्म ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने र ६० लाख बराबरको व्यावसायिक कारोबार हुने अनुमान फ्यानको छ ।
शनिबार अवलोकनकर्ताहरूको घुइँचो बढेको थियो । छुट्टीको दिनसमेत भएकाले पहिलो दिनको तुलनामा दोब्बर बढी अवलोकनकर्ताले अवलोकन गरेका हुन् । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराकासाथ चलिरहेको मेला आइतबारसम्म चल्नेछ । विगतका वर्षहरूमा चार दिनसम्म चल्ने मेला यो वर्ष तीन दिन मात्र गरिएको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । “मेला प्रदर्शनी गर्ने स्थल भृकुटीमण्डप मात्र हुँदा हामीलाई मेला गर्न समस्या भएको छ,” उनले भने, “मेलाको लागि जेठसम्म नै यो प्रदर्शनी स्थल बुक गरिएको छ, अहिले नगरेको भए स्पेस नै नपाइने अवस्था थियो ।” शुक्रबार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले मेला उत्सव गर्ने वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने बताए ।
पुष्प तथा पुष्पजन्य बस्तुहरूको प्रबद्र्धन, बिस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले आयोजना गरिएको मेला बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म चलिरहेको छ । मौसमी फूल, आलंकारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि, आधुनिक खेती प्रविधि र जैबिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष छन् । मेलामा राखिएका सिँचाइका नयाँ प्रविधि, सजावटका सामग्री, फूलका बीउका स्टल र सजावटका स्टलहरूमा अवलोककर्ताको बढी घुइँचो लागेको थियो ।
नेपाली पुष्प व्यवसाय आव ०७३-७४ सम्म आई पुग्दा हाल ४३ जिल्लामा लगभग ६ सय ९७ पुष्प व्यवसाय बिस्तार भइसकेको छ । करिब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४३ हजार ५ सयभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको छ । यस व्यवसायले आव ०७४-७५ मा २ अर्ब २५.२४ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको छ । आव ०७४-७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ भने निर्याततर्फ २.३७ करोड बराबरको छ । समग्रमा पुष्प व्यवसाय वार्षिक १० देखि १५ प्रतिशतको हाराहारीमा वार्षिक वृद्धिदर छ ।