फोनपेको सीओओमा ठकुरी नियुक्त

भुक्तानी प्रणाली सञ्चालक फोनपेको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् ।
नवनियुक्त सीओओ ठकुरीले यसभन्दा अघि नबिल बैंकमा १८ वर्ष सेवा पु-याए । उनीसँग कार्ड तथा डिजिटल पेमन्ट क्षेत्रमा दशक लामो अनुभव र सेल्स एन्ड मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन क्षेत्रको ८ वर्षभन्दा बढीको अनुभव छ ।
फोनपेमा सीओओको रूपमा नियुक्त भएसँगै फोनपेको सेवा थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अघि सञ्चालन गरिएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।