खानेपानीको पाइप व्यवस्थापन नहुँदा सडक निर्माणमा ढिलाइ

धनगढी-ठेक्का लगाएको डेढ वर्षपछि सधैंभरि हिलो भएर धनगढी उपमहानगरपालिकालाई गिज्याइरहने सडकको नाली निर्माण गर्न थालिएको छ ।
धनगढी उपमहानगरपालिका–५ मा पर्ने पिपल चौतारा–लब्ली चोक खण्डमा निर्माण कम्पनीले नाली निर्माणका लागि ट्रेन्च खन्न थालेको छ । सो सडकमा दुवैतर्फ नाली निर्माण नगरी सडकमा हुने हुलो समाधान नहुने भएपछि नाली निर्माण कार्य भइरहेको हो ।
निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले खानेपानीको पाइप व्यवस्थापन हुन नसकेको हुनाले काम ढिलो भएको जनाएको छ । “खानीपानीको पाइप टुटफुट भएका कारणले काम ६ महिना ढिलो भयो,” कालिका कन्स्ट्रक्सनका इन्जिनियर प्रकाशचन्द्र कँडेलले भने, “खानेपानीको पाइप र बिलुजीको पोल व्यवस्थापन भएको ठाउँमा हामीले समयमै काम गरेका छौं । हसनपुर खण्ड (पिपल चौतारा–लब्ली चोक–दाहाल टोल) मा खानेपानीको पाइप फुटेर डिस्टर्ब भएको छ ।”
संघीय आयोजना कार्यान्वयन इकाई, धनगढी उपमहानगरपालिका खानेपानी, संस्थान र विद्युत प्राधिकरणलगायत सरोकारवालाको बैठकले एक महिनाअघि खानेपानीको पाइप र बिजुलीको पोल व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर सो निर्णयअनुसार समस्या समाधान प्रभावकारी भएको छैन । “समस्या समाधान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेको उपमहानगरपालिकाले तदारुकताका साथ काम गरेको छैन,” इन्जिनियर कँडेलले भने, “सरकारी काम ढिला सुस्ती हुने भएकाले हामीले समयमै काम गर्न पाएका छैनौं ।”
हसनपुर सडकसंँगै क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत धनगढीमा सात वटा सडक खण्ड (१०.२४ किमि) निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले लिएको छ । त्यसमध्ये सहिद गेट–क्याम्पस रोड र डिभोटी–पिपल चौतारा खण्डको काम मात्रै तीव्र गतिमा भएको छ । चौराहा–कैलाली नाला (चार लेन), गुल्म–चर्च र मालपोत रोडमा निर्माण प्रारम्भ नै भएको छैन भने चारवटा सडक खण्डको निर्माण कार्य सुस्त छ । इन्जिनियर कँडेलले खानेपानीको पाइप र बिजुलीको पोल व्यवस्थापन हुन नसकेकाले सुस्त गतिमा निर्माण भइरहेको बताए । दुई वर्षे ठेक्काको म्याद २०७९ भदौसम्म छ । सो अवधिसम्म सबै सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी काम गरिरहेको भए पनि ती बाधाहरूले समस्या भइरहेको उनको भनाइ छ ।
संघीय योजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर ड्रोना कट्वालले खानेपानीको पाइप व्यवस्थापनका लागि पहल भइरहेको बताए । उनले धेरै जसो सडकमा परेको खानीपानीको पाइप सार्न स्वीकृति दिइसकिएको र बाँकी समस्या खानेपानी संस्थान, विद्युत कार्यालय, धनगढी उपमहानगरपालिका र अन्य उपभोक्तारुको सहकार्यमा व्यवस्थापन गरिने बताए ।
सहिद गेट–क्याम्पस रोड सडक निर्माण कार्य सकिएपछि मात्रै चौराहा–कैलाली नाला (चार लेन) सडक निर्माण कार्य प्रारम्भ गरिने इन्जिनियर कट्वालले बताए । उनले मेन रोडको सवारी चाप व्यवस्थापन गर्न सहिद गेट–क्याम्पस रोड निर्माण हुनुपर्ने भएकाले चौराहा–कैलाली नाला निर्माणमा सुरु नगरिएको बताए । उनले गुल्म–चर्च र मालपोत रोड निर्माण कार्य पनि भइरहेको बताए ।