दैनिक ३५ करोड राजस्व प्रभावित
भारतमा निर्वाचनका कारण भैरहवा भन्सार नाका सुनसान

भैरहवा-सिमानाका बन्द हुँदा देशलाई कति नोक्सानी हुन्छ भन्ने कुरा भारत उत्तर प्रदेश विधान सभाको निर्वाचनले देखाएको छ ।
भारतको उत्तर प्रदेशमा अहिले विधान सभा निर्वाचन चलिरहेको छ । विभिन्न सात चरणमा हुने निर्वाचन अन्तरगत छैटौं चरणको निर्वाचन अन्तरगत आज (बिहीबार) उत्तरप्रदेशको विभिन्न १० जिल्लामा मतदान हुँदैछ । ती १० जिल्ला मध्ये नेपालसँग सीमा जोडिएका महाराजगन्ज र सिद्धार्थनगरमा समेत मतदान हुँदैछ ।
महाराजगन्ज जिल्ला नेपालको रुपन्देही जिल्लासँग सीमा जोडिएको छ । रुपन्देहीमा देशकै महत्वपूर्ण भन्सार नाका रहेको छ । भारतको निर्वाचनका कारण दुई दिनअघि देखिनै आयात निर्यात ठप्प छ । मंगलबारसम्म पैदलयात्रीहरु ओहोरदोहोर गरेपनि बुधबारबाट पूर्णरुपमा ठप्प छ । नाका बन्द हुँदा राज्यलाई ठूलो नोक्सानी हुने गर्छ ।
भैरहवा भन्सार अहिले सुनसान छ । पार्किङमा राखेका मालबाहक साधनको भन्सार क्लियरिङ बाहेक नयाँ मालबाहक साधन नआएको ३ दिन भइसकेको छ । “दैनिक ३ सय ५० देखि ४ सयको हाराहारीमा मालबाहक सवारी साधन आउनेमा अहिले शुन्य छ” भैरहवा भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख लक्ष्मी ढुंगानाले भने ।
यो नाका हुँदै आयात निर्यात गर्दा दैनिक ३५ करोड बढी राजस्व संकलन हुने कार्यालयको राजस्व संकलन मंगलबार १० करोड र बुधबार अति न्यून थियो । “संकलित राजस्व पनि नाकाबन्द हुनु अघि आएका सामानको भएको भन्सार अधिकृत ढुंगानाले बताए । निर्वाचनका कारण राजस्व प्रभावित हुने र यसले समग्र राजस्व संकलनको लक्ष्य पछि धकेलिएको ढुंगानाको भनाइ छ । “नाका बन्द हुँदा राजस्व संकलन पछि भए पनि संकलन त हुन्छ, तर दैनिक रुपमा संकलन हुने राजस्व तीन चार दिन पछि सर्दा राज्यको ढुकुटीमा दैनिक जाने पैसा जान पाउँदैन, खर्च प्रभावित हुन्छ, यसतर्फ पनि ध्यान जान जरुरी छ” ढुंगानाले भने ।
नाका बन्द हुँदा राजस्व संकलन पूर्ण प्रभावित भएको र नाका बन्द नेपाल बन्द जस्ता कार्यक्रम राख्दा कस्तो क्षति हुन्छ भन्ने यो उदाहरण रहेको रुपन्देही भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले बताए । तीन दिन भन्सार नाका बन्द हुनु राज्यका लागि चुनौती रहेको उनको भनाइ छ । आयातमुखी अर्थतन्त्रमा निर्भर नेपालले राजस्व संकलनको विकल्प पनि खोज्नु जरुरी रहेको पन्थीको भनाइ छ ।
नाका बन्द हुँदा नेपालका सार्वजनिक सवारी साधन मात्र नभएर पर्यटन क्षेत्र पनि प्रभावित हुन्छ । निर्वाचनका कारण भारतीय नागरिक नहुँदा यहाँका क्यासिनो पनि सुनसान छन् ।
निर्वाचनलाई लक्षित गरी रुपन्देही र भारतको महाराजगन्ज तथा सिद्धार्थनगरका जिल्ला अधिकारी, सुरक्षा अधिकारीको बैठकले ७२ घण्टाका लागि नाका बन्द गर्ने निर्णय गरेको छ । भारतबाट नेपालमा सामान लिएर आएका मालबाहक साधनलाई फिर्ता जान दिइएको छ भने एम्बुलेन्स, कुटनीतिक नियोग बाहेकलाई रोक लगाइएको छैन ।