नेपालमा लगानी बढाउने गुजरातका मुख्यमन्त्री पटेलको प्रतिवद्धता

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले भारतको गुजरातका मुख्यमन्त्री भुपेन्द्र रजनीकान्त पटेलसँग भेटवार्ता गरेका छन् ।
सन् २०२१ सेप्टेम्बर १३ मा गुजरातको १७औं मुख्यमन्त्री निर्वाचित पटेलसँगको भेटवार्तामा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष केसीले गुजरातका निजी क्षेत्रका लगानीकर्ता तथा सरकारको तर्फबाट नेपालमा लगानी बढाउन तथा दुई देशबीच सहकार्य र सहयोग आदानप्रदान गर्न अनुरोध गरेका छन् ।
भेटमा मुख्यमन्त्री पटेलले दुई देशबीच रही आएको सदियौं पुरानो सम्बन्धमा सौहाद्रपूर्ण समीक्षा गर्दै दुई पक्षीय सहयोग तथा सहकार्य अभिवृद्धि गर्न गुजरात सरकार सकारात्मक रहेको बताए । उनले नेपालको जलविद्युत क्षेत्र, सौर्य उर्जा लगायतका नवीकरणीय उर्जा एवं सूचना प्रविधि, पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने विषयमा पनि सहमति जनाएका छन् ।
संघले आगामी उपयुक्त समयमा आयोजना गर्ने योजना गरेको नेपाल–भारत साझेदारी सम्मेलनमा विशेष अतिथिको रुपमा सहभागी हुन तथा गुजरातको आर्थिक विकासको मोडलका विषयमा आफ्नो धारणासहित सम्बोधन गर्न राखेको प्रस्ताबमा पनि मुख्यमन्त्री पटेलले सहमति जनाएका छन् ।
दुई देशबीचका लगानीकर्तालाई एकै स्थानमा ल्याई लगानी तथा आपसी सहयोगको क्षेत्रमा विचार विमर्श गर्ने उद्देश्यसहित काठमाडौं र अहमदावाद दुवै स्थानमा नेपाल–गुजरात वाणिज्य मञ्चको स्थापना गरी अघि बढ्ने विषयमा पनि सहमति भएको बताइएको छ ।