Logo

एमसीसी कार्यान्वयनले आर्थिक विकास हुने चेम्बरको भनाइ

नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सँगको परियोजना सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको सो सहयोग सम्झौतालाई एमसीसीको मुख्यालयले पनि स्वीकार गरिसकेकाले अब कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको छ । प्रशारण लाइन निर्माणले मुलुकको विद्युत व्यापारलाई टेवा प्रदान गर्ने हुँदा उर्जा क्षेत्रमा लगानी बढ्ने आशा राखेको र सडक पूर्वाधारको स्तरोन्नतीले व्यापारमा सहजीकरण ल्याउने भएकाले परियोजना कार्यान्वयनमा ल्याउन चेम्बरले आग्रह गरेको छ ।
५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड डलर लगानी गर्ने परियोजनाको सफल कार्यन्वयनबाट आगमी पाँच वर्षमा नमुना विकासको आधार प्रस्तुत हुनुपर्ने चेम्बरको भनाइ छ । एमसीसी परियोजना अन्तरर्गत निर्माण हुने ४ सय केभी क्षमताको शंखरापुर लप्सेफेदी लप्सेफेदी–रातामाटे, रातामाटे–हेटौंडा, दमौली–बुटवल प्रसारण लाइन र सबस्टेसन निर्माणबाट मुलुकको आन्तरिक विद्युत प्रणाली र अन्तरदेशीय विद्युत व्यापारका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष राजेन्द्र मल्लले बताए ।
५० करोड डलर बराबरको सो आर्थिक परियोजना मुलुकको विकास तथा रोजगारी सिर्जनाका लागि महत्वपूर्ण आधार हुने अध्यक्ष मल्लको भनाइ छ । “एमसीसी परियोजना बन्ने आधार खडा भएको छ । यसले निजी क्षेत्रमा पनि उत्साह जगाएको छ” उनले भने, “यो विशुद्ध आर्थिक परियोजनाको पाँच वर्षभित्रमा सफल कार्यान्व्यन गरेर आर्थिक समृद्धि तथा नमुना योजनाका रुपमा विकास गरिनुपर्दछ ।”
चेम्बरले एमसीसी परियोजना कार्यान्वयनमा सरकार र सरोकारवाला हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई समेत समयमै सम्पन्न गर्ने वातावरण बनाउन पनि चेम्बरले सरकारसँग आग्रह गरेको छ ।
सम्झौता अनुमोदनले नेपालको विकासप्रतिको प्रतिवद्धताको सन्देश सम्प्रेषण हुने तथा लगानीको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरेको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड–१९ महामारीका कारण सुस्त रहेको अर्थतन्त्रलाई एमसीसी कम्प्याक्ट अनुमोदनद्वारा राहत प्रदान हुनेसमेत चेम्बरले जनाएकोे छ ।
अर्थतन्त्रको सम्भावित मेरुदण्डको रुपमा रहेको विद्युत् आयोजनाका लागि अति आवश्यक रहेको प्रसारण लाइन निर्माण र सडक मर्मत आयोजना रहेको हुँदा यस परियोजनाको महत्वपूर्ण भूमिका रहेको चेम्बरको बुझाइ छ । मुलुकको समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारमा मूल समस्याको रूपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने चेम्बरले जनाएको छ ।
आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार गर्नेतर्फ एमसीसी परियोजना महत्वपूर्ण आधार हुने चेम्बरले विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्