दलीय इच्छाशक्तिमा विद्युतीय मतदानको भविष्य

विद्युतीय मतदान पद्धतिमा आधारित मतदान प्रक्रियामा बहुसंख्यक मतदातालाई परिचालन गर्दै विश्वसनीयताको कसीमा निर्वाचनजन्य गतिविधिको शुद्धता कायम राख्ने प्रयास गरौं ।
नेपाललगायत लोकतन्त्रमा विश्वास गर्ने विश्वका अधिकांश मुलुकले सम्बद्ध मुलुकको मूल कानुन संविधानले निर्दिष्ट गरेअनुरूपको संवैधानिक प्रावधानको मूल मर्ममा प्रतिकूल असर नपर्ने गरी निर्वाचनजन्य गतिविधिलाई आत्मसात् गर्दै लोकतान्त्रिक अभ्यासलाई निरन्तर रूपमा उपभोग गर्दै आएको वर्तमान अवस्था हो । जसअनुसार अवस्था हेरी चार–पाँच वर्षको अन्तरालमा गरिने निर्वाचनले यथार्थमा लोकतन्त्रलाई दीर्घकालसम्म चिरस्थायी कायम राख्न मद्दत पु-याउनेछ भन्ने जनविश्वास रहँदै आएको पाइन्छ । किनकि लोकतन्त्रको आत्मा निर्वाचन भएकै कारण प्रस्तुत तथ्यगत विशेषतालाई आधार मानी नेपालले पनि स्थानीय तह, प्रदेश एवं विधायिका संसद्को योग्य तथा दक्ष जनप्रतिनिधिहरूको चयन गर्ने सम्प्रभू वालिग नेपाली जनसमुदायको नैसर्गिक अधिकार क्षेत्रलाई संविधानतः संरक्षण–सुरक्षित गर्दै आएको छ ।
प्रस्तुत अधिकार प्राप्तिका लागि कानुनतः निश्चित उमेरसमेत किटान गरिएको हुन्छ । जसअनुसार स्थानीय तहको निर्वाचन हुने मिति २०७९ वैशाख ३० गतेको अघिल्लो दिनसम्ममा १८ वर्ष उमेर पुगेका प्रत्येक वालिग नेपाली नागरिक समुदाय नै मतदान कार्यका लागि योग्य मानिनेछ । नागरिक समुदायको उक्त अधिकार प्राप्तिको सन्दर्भमा समय–समयमा सम्पन्न गरिने निर्वाचनले लोकतन्त्रको संवद्र्धन, प्रवद्र्धन तथा जनमतको अमूल्य अभिमतको संवेदनशीलतालाई मनन गर्दै तहगत आधारमा गरिने निर्वाचनमार्फत मतदान प्रक्रियाको गतिशीलतामा लोकतान्त्रिक अभ्यासलाई निश्चित रूपमा जीवन्त राख्नेछ । किनभने लोकतन्त्रमा जनता नै सर्वोपरि रहने हुँदा जनअभिमतको पनि विशेष महत्व रहने गरेको पाइन्छ ।
निर्वाचनसम्बन्धी सैद्धान्तिक पृष्ठभूमिको कुरा गर्दा प्रक्रियागत आधारमा प्रारम्भमा नागरिक समाजको पथप्रदर्शक अगुवालाई मौखिक वा प्रतिष्ठित भद्र भलाद्मीको समुपस्थितिमा नै चयन गर्ने परम्पराको थालनी भएको देखिन्छ । तत्पश्चात् आमजनसमुदायमा आएको मतदानजन्य चेतनशीलताको प्रभावले मौखिक रूपमा गरिने परम्परागत पद्धतीय व्यवहारलाई समयसापेक्ष परिष्कृत, परिमार्जित एवं प्रकारले सुधार गर्दै वैकल्पिक मतदानसम्बन्धी अवधारणाको विकास भएको मात्र हो ।
जसमा अवस्था हेरी गोप्य–कागजी वा अन्य भरपर्दो उपायलाई अवलम्बन गर्नै नसकिने भन्ने पनि होइन ।
तसर्थ निर्वाचनसम्बन्धी हालसम्मको अनुभवलाई केलाएर हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने प्रस्तुत परम्परागत कागजी प्रविधिको पद्धतिलाई अपनाउँदा झन्झटिलो हुनुको अतिरिक्त निर्वाचन प्रयोजनार्थ मतपेटिका एवं मतपत्रहरू स्थानान्तरण गर्ने सिलसिलामा हराउने, नासिने, च्यातिने, एसिड प्रयोगको सम्भावनाका साथै अन्य भैपरी तथा भवितव्यजन्य परिस्थितिको सम्भावित विकासले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रियागत प्रणालीलाई नै कतै दूषित पार्ने त होइन भन्ने आशङ्कासमेत उत्पन्न गर्नेछ ।
प्रस्तुत परिस्थिति निर्माण हुनुमा विशेषतः मतदाता शिक्षाको अभाव, नगद वा जिन्सीजन्य वस्तुको प्रलोभन आदिको अभिवृद्धि, डर, धाक–धम्कीजस्ता तŒवको बाहुल्यताले केही हदसम्म कागजी मतदान प्रक्रियामा ऋणात्मक असर पर्न गएको देखिन्छ । साथै कुत्सित नियतवश कागजी मतपत्र च्याती मतपरिणाम आफ्नो पकडमा पार्ने अलोकतान्त्रिक संस्कृतिको विकासले गलत तŒव हावी भए निर्वाचन हुनु वा नहुनुको कुनै अर्थ रहँदैन । यी यस्ता संवेदनशील तथ्यहरू हुन् जसले सम्पूर्ण निर्वाचन परिणामलगायतका निर्वाचनजन्य गतिविधिको संवेदनशीलता, निष्पक्षता एवं विश्वनीयतामाथि नै गम्भीर प्रश्नचिह्न उठ्न सक्नेछ । साथै मतगणना तथा नतिजा प्रकाशनको सन्दर्भमा समेत केही हदसम्म विलम्ब हुन जाने तथ्यलाई मध्यनजर राख्दै यसबाहेकको अन्य विकल्प रोज्नुपर्ने अवस्था प्रारम्भ भइसकेको छ भन्दा त्यति अत्युक्ति नहोला ।
तत् सन्दर्भमा उत्पन्न भएको खराब परिसूचकको अभिवृद्धिले धाँधलीरहित निर्वाचन गर्ने भन्ने राज्यको अवधारणामा समेत द्विविधा उत्पन्न गराई विलखबन्दको परिस्थिति निर्मार्ण गर्नेछ, जसको निराकरणका लागि एक्काइसौं शताब्दीअनुरूपको प्रविधिमैत्री व्यवहारमा आधारित विद्युतीय मतदानको प्रयोग निश्चिन्त भएर गर्न सकिने वातावरणको निर्माण भए निर्वाचनजन्य विश्वनीयताको कसीमा अवश्य पनि अब्बलता प्राप्त हुने कुरामा हामीहरू कसैको पनि दुईमत हुन सक्दैन । प्रस्तुत प्रविधिमा आधारित रहेर गरिएको मतदानको नतिजालाई तत्कालै मेसिनले संरक्षित गर्न सक्ने भरपर्दो प्रविधिको विकासले मतदातावर्गलाई थप उत्साहित बनाउँदै सम्बद्ध पक्षको मताधिकारको सुनिश्चिताको प्रत्याभूति कायम गर्ने विश्वास लिन सकिनेछ । यद्यपि विद्युतीय मतदान प्रक्रियामा धाँधली हुनै सक्दैन भन्ने पनि होइन, किनकि बदमासी गर्ने समूहले अन्य षड्यन्त्रमूलक कार्य गर्न सक्नेतर्फ भने सचेत एवं सतर्क रहनुपर्ने हुन्छ ।
यसका बाबजुद पनि धाधली गर्ने वा गर्नुपर्छ भन्ने दुराशयपूर्ण निर्वाचनसम्बन्धी आचरणका लागि केही हदसम्म विद्युतीय मतदान पद्धति बाधक साबित बन्न सक्नेछ । किनकि प्रस्तुत प्रविधिमा सम्भव भएसम्म हातका औंलाहरूको सफल प्रयोगपश्चात् तत्कालै दिइएको मतपरिणामहरू सुरक्षित रहन सक्ने प्रविधिगत प्रणालीलाई समावेश गरिएको हुन्छ, जसका कारण कतिपय अवस्थामा नेपालका अतिरिक्त दक्षिण एसियाका साथै विश्वका अन्य मुलुक जहाँ निर्वाचनसम्बन्धी जनचेतनाको अभावका कारण विद्युतीय मतदानप्रति सम्बद्ध मुलुकका राजनीतिक समूह अनिच्छक रहन सक्ने प्रबल सम्भावना रहन्छ । यही त्यो कारक तत्व हो, जसमा प्रविधिले युक्त मतदानको सफलता वा असफलताको भविष्य निर्धारण हुनेछ ।
यद्यपि मत परिणामको घोषणामा हुने छिटो–छरितोपनको अनुभूतिलाई कुनै पनि हालतमा बिर्सन मिल्दैन । यही मूलभूत तथ्यलाई आधार मानी विश्वका विकसित राष्ट्रहरूले प्रस्तुत प्रविधिमा आधारित निर्वाचन पद्धतिलाई अङ्गीकार गर्दै आएका मात्र हुन् । निश्चित रूपमा मतदान भनेको लोकतन्त्रप्रति आस्थावान् राजनीतिक दलहरूले राज्य र नागरिक समाजका लागि गरेको कामको मूल्यांकनस्वरूप जनअभिमतको उचित पारितोषिक भएकै कारण खरिदबिक्री हुने भन्ने प्रश्न नै उठ्दैन । साथै अभिमत खेर जानु हुन्न भन्ने मान्यतासमेत रहँदै आएको छ । यद्यपि नेपालको सन्दर्भमा विद्युतीय मतदानको भविष्य हाम्रा राजनीतिक दलहरूको दृढ इच्छाशक्तिमा अन्तनिर्हित रहने तथ्यलाई अन्यथा लिन मिल्दैन । किनभने लामो समयदेखि पुरातन कागजी मतदान पद्धतिमा आदत परेका बहुसंख्यत नेपाली जनसमुदायलाई विद्युतीय मतदान प्रक्रियामा समाहित गर्न अवश्य पनि केही व्यावहारिक कठिनाइहरू उत्पन्न हुने सम्भावनालाई भने नकार्न मिल्दैन ।
जसको सफल प्रयोगका लागि पर्याप्त मात्रामा निर्वाचनजन्य जनचेतनाको अभिवृद्धि गराउँदै सुगमदेखि दुर्गम स्थानसम्मका नागरिक समुदायलाई समाहित गर्न सकियो भने ठोस परिणाम अवश्य पनि निस्कने कुरा विश्वस्त रहन सकिनेछ । विगत केही समयअगाडि मात्रै काठमाडौँ उपत्यकाभित्रका सीमित निर्वाचन क्षेत्रमा विद्युतीय प्रणालीमा आधारित मतदान प्रक्रियामा मतदाता समुदायलाई समावेश गराएको तथ्यलाई यस अवसरमा भुल्न मिल्दैन ।
प्रस्तुत विषयान्तरलाई मध्यनजरमा राख्दै निर्वाचन आयोगले तत्सम्बन्धी कार्यदिशामा आवश्यक पर्ने राय, परामर्श, विचार विमर्शको आदानप्रदानलाई अवश्य पनि अगाडि बढाउँदै निकट भविष्यमा हुने चुनावमा यसको बढीभन्दा बढी प्रयोगलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नेछ भन्ने विश्वास लिन सकिनेछ । सार्थक निष्कर्षसहितको परिणाम हासिल गर्नका लागि सुरुको अवस्थामा विद्युतीय मतदानसम्बन्धी मेसिन खरिद गर्न थप आर्थिक व्ययभार पर्ने भए तापनि कालान्तरमा हुने निर्वाचनमा भने केही हदसम्म भए पनि मितव्ययी रहन जाने कुरामा हामीहरू कसैको पनि भिन्न मत रहन सक्दैन ।
वास्तवमा भन्ने हो भने निर्वाचन भनेको जनप्रतिनिधिहरूको चयन गर्ने प्रक्रिया मात्र होइन, जसको सकारात्मक परिणाम भन्नु राज्यमा कायम रहँदै आएको राजनीतिक अराजकताको अन्त्य गरी स्थायित्व एवं समृद्धिको ढोका खोल्ने उचित अवसरसमेत हो, जसले नागरिक समुदायको स्वाधीनताको रक्षा गर्दै आर्थिक विकासको पथमा अत्यधिक जनसमुदायलाई समाहित गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । जनहितकारी कार्यका लागि सफल निर्वाचन पद्धतिहरू पूर्ण रूपमा सक्षम रहने हुँदा राजनीतिक समूहलगायतका नागरिक समाजको उल्लेख्य सहभागितामा विद्युतीय मतदान प्रक्रियामा आधारित निर्वाचन सम्पन्न गर्ने प्रबन्ध मिलाउने हो भने हाम्रो निर्वाचन प्रणालीप्रति मुलुकभित्र र बाह्य जगत्मा पनि सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ ।
तसर्थ परम्परागत कागजी मतदान प्रक्रियालाई आधुनिक प्रविधिमा रूपान्तरण गर्दै विद्युतीय मतदान पद्धतिमा आधारित मतदान प्रक्रियामा बहुसंख्यक मतदातालाई परिचालन गर्दै विश्वसनीयताको कसीमा निर्वाचनजन्य गतिविधिको शुद्धता कायम राख्ने प्रयास गरौं । जुन उदाहरणीय कार्यको अनुपम नमुना बन्न सकोस् भन्ने चाहना हरेक सम्प्रभू नेपाली नागरिक समुदायको रहँदै आएको वर्तमान अवस्था हो ।