‘उद्यमशिलताबाटै समृद्धि’

गलकोट- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशिलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताएका छन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न लागिएको झोलुंगे पुलको बागलुङतर्फ शिलान्यास गर्दै तिमिल्सिनाले पुललाई आउजाउका रूपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताए । उनले पुल निमार्णले समेत समृद्धिको यात्रामा सहयोग पु-याउने बताए । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थालिएको झोलुंगेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुने सस्पेन्सनब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर कन्स्ट्र«क्सनले सात करोड ९७ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सस्पेन्सनब्रिज कार्यालयले उपलब्ध गराउनेछ । पुलको सबै निर्माण सम्पन्न गर्दा १२ करोड २२ लाख १८ हजार ९५७ खर्च लाग्ने छ । निर्माण कम्पनीका कर्मचारी नरहरि खड्काका अनुसार नेपालमा पहिलोपटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक प्रयोग गरेर काम सम्पन्न गरिनेछ । श्रेष्ठका अनुसार अहिलेसम्म ३६५ मिटरसम्मको लामा झोलुंगे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो देशकै एक लामो झोलुंगे पुल हुनेछ । नेपालको अग्लो पुल भने पर्वतमा निर्माण भइसकेको बताए ।