Logo

‘व्यवसायीको गुनासो समाधान गर्ने प्रतिवद्धता’

वीरगञ्ज-भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वीरगञ्जका उद्योगी व्यवसायीहरुले राखेका संस्थागत सुझाव र गुनासोहरु प्राथामिकतामा राखेर समाधान गर्ने बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले भन्सार विभागसँग गरेको अन्तरक्रियामा महानिर्देशक भट्टराईले समस्याहरुका प्रकृति हरेर प्राथमिकताका आधारमा समाधन गर्ने बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपालबाट रातो बासमती निर्यातका लागि पहल गर्नुपर्ने बताउँदै उद्योगको लागि आयात गर्ने मेसिनमा १ प्रतिशत भन्सार लाग्ने गरेतापनि मेसिनको पाट्र्सहरु मगाउँदा बढी भन्सार तिर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरि १ प्रतिशतमै झार्नु पर्ने माग गरेका छन् । भारत तथा तेश्रो मुलुकबाट आयत हुने तयारी सामान र कच्चा पदार्थको भन्सार दरबन्दी समान रहेकोले तयारी सामान र कच्चा पदार्थको भन्सार दरबन्दीमा १ तह फरक हुनुपर्नेतर्फ महानिर्देशकको भट्टराईको ध्यानाकर्षण गराए ।
अध्यक्ष डा. गुप्ताले एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट हाल मालवाहक सवारी साधनमात्र आइरहेकाले सर्वसाधारणको आवत जावत सहजताका लागि यात्रुबाहक सवारी साधनलाई खुला गरिनुपर्ने माग पनि राखे ।
संघका सुझाव र माग तत्काल निरुपण गर्ने र नीतिगत समस्याको समाधानका लागि आवश्यक गृहकार्य गरी निजी क्षेत्रलाई सहज वातावरण निर्माण गर्ने महानिर्देशक भट्टराईले प्रतिवद्धता व्यक्त गरे । सरकारले संकलन गर्ने राजस्वको झण्डै आधा हिस्सा वीरगञ्ज र ड्राईपोर्ट भन्सारबाटै संकलन हुने गरेको स्वीकार गर्दै यस क्षेत्रको माग, गुनासो र सुझावलाई प्राथमिकतामा राखेर सम्बोधन गर्न भन्सार विभाग प्रतिबद्ध रहेको बताए । उद्योगी व्यसायीहरुले विगतका वर्षहरुमा सरकारले दालको निर्यातमा ४ प्रतिशत अनुदान दिने गरेकोमा अहिले आएर अनुदान दिन बन्द गरेकोले दलहन निर्यातमा सरकारले दिँदै आएको अनुदानलाई पुनः लागु गरिनु पर्नेमा जोड दिए ।
संघका उपाध्यक्ष माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै ४७ वटा संकेत नम्बरमा आउने मालवस्तुको हकमा शतप्रतिशत मार्जिन राख्ने प्रावधानले परेको कठिनाइ, भन्सार मूल्यांकनमा देखिएको जटिलता हटाउन ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्