Logo

मुद्रास्फीति दोहोरो अंकमा पुग्ने आकलन

नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै चुलिएको मुद्रास्फीतिमा दुई देशबीचको तनावले आगोमा घिउ थप्ने काम गर्ने अनुमान गरिएको हो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ७ प्रतिशतभन्दा तल मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरमा ७.११ प्रतिशत तथा पुसमा ५.६५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
तर, जलवायु परिवर्तन, भू(–राजनीति, आर्थिक गतिविधिमा भएको विस्तार आदिका कारण मूल्यमा निकै चाप पर्ने देखिएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनका अनुसार मूल्यवृद्धि दोहोरो अंकको आसपासमा पुग्ने देखिएको छ ।
“कृषि उपजमा जलवायु परिवर्तनको प्रभाव पर्दा उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरूमा त्यसको असर परिरहेको छ । तेल, दलहन तथा गहुँको उत्पादन र आपूर्तिलाई पनि जलवायु परिवर्तनको असरले असहज बनाएको देखिन्छ,” उनले भने । त्यसमाथि जलवायु परिवर्तनको सन्दर्भमा गरिएका प्रतिवद्धता र बाध्यताले पनि मुद्रास्फीतिमा थप प्रभाव पारेको थापाको तर्क छ । “कोइला र जैविक इन्धन उत्पादन, खपत र नियन्त्रण गर्ने कुराहरू छन् । लो कार्बन इकोनोमीमा जाने बाध्यता र प्रतिवद्धता छन् । ग्रिन इनर्जीमा रुपान्तरण हुनुपर्ने कुरा छ । यसले महँगी थप बढाइरहेको छ,” उनले भने । रसिया र युक्रेनबीच भइरहेको युद्धले आपूर्ति शृंखलामा असर गरेको र यसबाट धरै देशहरू प्रभावित हुनुपरेको थापाले बताए । “एक ठाउँमा युद्ध हुँदा त्यसको प्रभाव धेरै मुलुकमा पर्छ । युक्रेन र रसियाबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने देखिएको छ,” उनले भने ।
अर्थविद् प्रा.डा. विश्वम्भर प्याकु¥याल पनि मुद्रास्फीतिले दोहोरो अंक छुने बताउँछन् ।
ओमिक्रोनको कहरपछि अनियन्त्रित भइरहेको मूल्य वृद्धिलाई युक्रेन र रुसको युद्धले थप प्रभावित बनाउने उनको तर्क छ । “अहिले अर्थतन्त्र पुनरुत्थान भइरहेको समयमा स्वाभावैले माग बढ्छ । माग बढेपछि मूल्य वृद्धि पनि हुन्छ । तर, नेपालको बजार अनियन्त्रित हुँदा आर्थिक परिसूचकहरू ढलमलाएर बजार अराजक भइरहेको छ,” उनले भने । युद्ध हुनुभन्दा अगाडि नै हरेक महिना पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको अवस्थामा रुसमाथि विभिन्न प्रतिवन्ध लगाइँदा त्यसको असर मूल्य वृद्धिमा पर्ने उनी बताउँछन् । “युरोपियन युनियनमा रुसबाट मात्रै ४० प्रतिशत ग्यास आयात हुन्छ । युद्धले त्यसलाई प्रभावित पारेको छ । त्यसमाथि युद्धका कारण रुसका बैंकहरूलाई ‘स्विफ्ट’मा प्रतिवन्ध लगाइएको छ । रुसले गर्ने डलरको कारोबार पनि बन्द गरेका कारण डलरको गतिविधिमा रोक लागेको छ र त्यसले अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने देखिएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्