पाँच दर्जन औषधि उद्योगमा ३५ अर्ब लगानी

मुलुकमा सयभन्दा बढी औषधि उद्योग दर्ता भए पनि झन्डै साढे पाँच दर्जनमात्र सञ्चालनमा रहेको र यी उद्योगमा ३५ अर्ब रुपैयाँ लगानी भइसकेको एक अध्ययनले देखाएको छ । उद्योग विभागले गरेको अध्ययनअनुसार नेपाल औषधिमा आत्मनिर्भर बन्ने सम्भावना देखिए पनि नीतिगत व्यवस्थाको कार्यान्वयन जरुरी छ ।
विभागले एभरेष्ट कन्सल्टेन्सीमार्फत गरेको अध्ययनअनुसार औषधि उद्योगहरूको कुल लगानी ३५ अर्ब रुपैयाँभन्दा बढी भएकोमा यसमध्ये स्थिर पुँजी ६५ प्रतिशत र चालु पूँजी ३५ प्रतिशतमात्र रहेको छ । औषधि उद्योगसम्बन्धी अध्ययनमा संलग्न एभरेष्ट कन्सल्टेन्सीका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नेपाली औषधि अद्योगको हालको उत्पादन क्षमता उपभोग अनुसार लगभग ५५ वटा औषधिमा नेपाल आत्मनिर्भर भएको अवस्था छ । तर, यसको बजार हिस्सा भने बाहिरी देशबाट निर्यात भएका औषधिको दाँजोमा झण्डै ७३ प्रतिशत रहेको छ । यस्तै, केही औषधिहरूमा नेपाल पूर्ण आत्मनिर्भर भएको अवस्था छ भने केही औषधिहरू पूर्णतया बाहिरी देशको भर पर्नुपर्ने अवस्था छ । आयातित औषधिमा क्यान्सरको औषधि, भ्याक्सिन लगायत रहेका छन् ।
नेपाली औषधि उद्योगहरूले प्राविधिक तथा दक्ष जनशक्तिको अभाव सामना गर्नुपरेको तथा भारी लगानी र उच्च बैंक ब्याज दर मुख्य समस्या रहेको सुवेदी बताउँछन् । “कर्मचारीको माग, टिमवर्क, इमानदारिताको कमी र काम गर्न इच्छुक नहुने, स्थानीय गाउँले, राजनीतिक दलद्वारा जबरजस्ती चन्दा आदि आन्तरिक चुनौती हुन्,” उनले भने, “बाह्य चुनौतीमा आत्मनिर्भर औषधिहरूको लागि आयात नीति, कच्चा पदार्थ र प्याकिङ सामग्रीको आयातमा सहजीकरण, विदेशी उत्पादनहरूको आयात, उत्पादन र बिक्री इजाजतपत्र नीति, निर्माण इजाजतपत्रको लागि लामो र झन्झटिलो प्रक्रिया र निर्यातमा सहजीकरण नगरिनु मुख्य कारण हुन् ।” यस्तै, नयाँ प्रविधि भित्र्याउन लाग्ने ठूलो लगानी, बैंक तथा वित्तीय संस्थाको ब्याजदर, बाह्य औषधिसँग बजार प्रतिस्पर्धा, बढी कमिसनका औपधि मात्र सिफारिस हुने प्रवृत्तिलाई पनि प्रतिवेदनमा समस्याका रुपमा औंल्याइएको छ । विदेशी सटही दरमा फरक र कच्चा पदार्थको बढी मूल्य जस्ता चुनौती नेपालका औषधि उद्योगहरूले सामना गर्नुपरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेपालको औषधि उद्योगमा निजी क्षेत्रको बर्चश्व रहे पनि आधारभूत औषधिमा भने सरकारी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाह नेपालको बजार सानो भए पनि लागत बढी पर्ने तर अत्यावश्यकीय औषधि निजी क्षेत्रले उत्पादन गर्ने नहुँदा सरकारको उपस्थिति जरुरी रहेको बताउँछन् । “कुनै औषधि यस्ता छन् जुन थोरै उत्पादन हुन्छ तर अत्यावश्यक छन् । यस्तोमा निजी क्षेत्रले लगानी गर्दैन, किनकि लागत बढी हुन्छ,” उनी भन्छन्, “यस्तो अवस्थामा जनताले औषधि पाउने कि नपाउने ? यसकारण औषधिजस्तो सेवामुखी क्षेत्रमा सरकारको आफ्नै उत्पादन हुनुपर्छ ।” उनका अनुसार नेपालमा अहिले १६ हजारभन्दा धेरै औषधि प्रयोग हुन्छ, सबै नेपाल औषधिले बनाउन सम्भव छैन । त्यसैले अत्यावश्यक ठानिएका ७१ वटा औषधि भने नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने गृहकार्य गरिरहेको छ ।